
काठमाडौं ।
देशभित्र विदेशी मुद्रा प्रवाह तीव्र रूपमा बढेको संकेत नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०८१–८२ को पहिलो १० महिनामा शोधनान्तर स्थिति र विप्रेषण आप्रवाह -रेमिट्यान्स- दुबै क्षेत्रमा ऐतिहासिक सुधार देखिँदा नेपालको बाह्य क्षेत्रको अवस्था अझै बलियो बन्दै गएको छ । खासगरी लामो समयदेखि असन्तुलनमा रहेको चालु खाता र पूँजी खातामा समेत सुधार देखिनु मुलुकको समग्र आर्थिक स्वास्थ्यका लागि सकारात्मक संकेत मानिएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्मको १० महिनामा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४५ अर्ब बढी हो। अमेरिकी डलरमा हेर्दा पनि ३ अर्ब २३ करोडको शोधनान्तर बचतले नेपालमा डलर सञ्चितिको अवस्था मजबुत देखिएको छ।
शोधनान्तर भन्नाले कुनै निश्चित अवधिमा आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका सम्पूर्ण आर्थिक तथा वित्तीय कारोबारको निचोड बुझिन्छ। शोधनान्तर सकारात्मक हुँदा विदेशी मुद्राको आप्रवाह बढी हुने र नकारात्मक हुँदा बाहिरिने प्रवाह तीव्र हुने गर्छ। पछिल्लो तथ्यांकले देखाउँछ—देशको बाह्य कारोबार सन्तुलित मात्र होइन, भोलिका लागि सुरक्षित रिजर्भ तयार गर्न सक्ने स्थितिमा पुगेको छ।
विप्रेषण प्रवाहले बनायो ऐतिहासिक कीर्तिमान
भित्रिएको डलरको मूल स्रोत अझै पनि नेपाली युवा श्रमिककै पसिना र मेहनत हो। वैशाख महिनामा मात्र रेमिट्यान्स आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ—यो एक महिनाको अवधिमा अहिलेसम्मकै उच्च हो। यससँगै चालु आर्थिक वर्षको १० महिनामा देशले कुल १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स आर्जन गरिसकेको छ।
यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ३ प्रतिशतको वृद्धिदर हो, जुन महिानापछिको पुनरुत्थानकालीन समयमा स्थायित्वको सन्देश दिन्छ। अमेरिकी डलरमा विप्रेषण १० दशमलव ५ प्रतिशतले बढेर ९ अर्ब ९६ करोड डलर पुगेको छ। यी सबैले नेपालमा उपभोग क्षमताको वृद्धिलाई समेत संकेत गरेको विश्लेषकहरू बताउँछन् ।
चालु खाता पनि सुधारतर्फ
शोधनान्तरको सबल स्थिति बनाउने अर्को महत्त्वपूर्ण सूचक चालु खाता पनि हाल २ खर्ब ५५ अर्ब ९३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यो १ खर्ब ९३ अर्ब ३१ करोड रुपैयाँ थियो । डलरमा हिसाब गर्दा चालु खाता बचत १ अर्ब ८९ करोड पुगेको छ।
यसको अर्थ—देशले आयातभन्दा निर्यात, सेवा आप्रवाह तथा अन्य शुद्ध आम्दानीमा तुलनात्मक सुधार गरेको छ। त्यसैगरी पूँजी तथा वित्तीय खाता अन्तर्गत प्रत्यक्ष वैदेशिक लगानी पनि १० महिनामा १० अर्ब ६० करोड रुपैयाँ पुगेको छ, जुन पहिलेको तुलनामा केही सुधार मानिन्छ।
अर्थतन्त्रलाई बलियो बनाउने ‘विदेशी मुद्रा बल्क’
विप्रेषणको निरन्तर वृद्धिले न केवल उपभोग र आयातमा वृद्धिका लागि आवश्यक डलर आपूर्ति सुनिश्चित गर्छ, यसले राष्ट्र बैंकलाई मौद्रिक नीतिमा लचकता अपनाउन, ब्याजदर सन्तुलन गर्न, विदेशी मुद्रा सञ्चिति सुदृढ गर्न र दीर्घकालीन ऋणदातासँगको सम्बन्ध मजबुत पार्न सक्ने वातावरण तयार गर्छ।
यसैबीच खुद पूँजीगत ट्रान्सफर ८ अर्ब ४८ करोड रुपैयाँमा पुग्नु र वैदेशिक लगानी केही बढ्नु सकारात्मक भए तापनि अझ धेरै संरचनागत सुधार आवश्यक रहेको विज्ञहरू औंलाउँछन्। लगानीमैत्री कानुन, श्रम बजार सुधार र राजनीतिक स्थायित्व नहुनुले सम्भाव्य पूँजी भित्रिन अझै अवरोध बनेको उनीहरूको ठम्याइ छ।
जनताका लागि के अर्थ
विदेशी मुद्राको आप्रवाहले तत्काल उपभोग, रोजगारी, आयात तथा मुद्रास्फीतिमा केही सन्तुलन ल्याए पनि दीर्घकालीन समाधान भने आर्थिक उत्पादन, निर्यात वृद्धिको मार्गमै निर्भर रहन्छ। तर अहिलेको अवस्थामा, विप्रेषण र विदेशी मुद्रा सञ्चिति सकारात्मक हुँदै गएको छ, जुन नेपालजस्तो आयातमा निर्भर अर्थतन्त्रका लागि राहत स्वरूप आएको हो।
शोधनान्तरमा देखिएको यो बचतले नेपालमा विदेशी मुद्रा सञ्चिति बलियो बनाउने मात्र होइन, भोलिको आर्थिक रणनीतिलाई पनि सहज बनाउनेछ। अब चुनौती भनेको—यस मुद्रा प्रवाहलाई उत्पादन, पूर्वाधार, शिक्षा र उद्यमशीलतामा रूपान्तरण गर्ने दीर्घकालीन रणनीति निर्माणमा छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।