
काठमाडौं ।
वैदेशिक रोजगार विभागले अबदेखि विदेशमा रोजगारीका लागि पठाउने इजाजत प्राप्त संस्था (म्यानपावर) नवीकरण गर्दा संस्था रहेको डिजिटल ठेगाना खुल्ने गरी गुगल प्लस कोड उपलब्ध गराउनुपर्ने र संस्थाको वेभसाइटमा समेत अनिवार्य रूपमा राख्नुपर्ने प्रावधान बनाएको छ ।
यसरी राखिएको लोकेसनअनुसार सो संस्थामा जाने सेवाग्राही र विभागको अनुगमनमा समेत सहजता आउने र एक्काइसौं शताब्दीमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्दा त्यसले परिणाम पनि राम्रो दिने विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
विभागले जेठ २६ गते एक सूचना प्रकाशन गरी वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली २०६४, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ एवम् प्रचलित कानुनबमोजिम सम्बन्धित निकायमा दर्ता भई वार्षिक रूपमा नवीकरण गर्नुपर्ने वैदेशिक रोजगारसम्बन्धी काम गर्ने इजाजत प्राप्त संस्थाहरू, स्वीकृति प्राप्त शाखा कार्यालयहरू, अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरू, केयर गिभरसम्बन्धी सीप विकास तालिम प्रदायक संस्थाहरू, घरेलु कामदारसम्बन्धी सीप विकास तालिम प्रदायक संस्थाहरू, वैदेशिक रोजगारमा जाने कामदारहरूलाई सीपमूलक तालिम प्रदान गर्ने संस्थाहरू एवम् खास देश पठाउनका लागि सूचीकृत भएका संस्थाहरुले तत्तत् कानुनबमोजिम तोकिएको समयावधिभित्र इजाजतपत्र\अनुमतिपत्र नवीकरण गर्नुपर्ने जनाएको हो ।
विभागले सोही अनुसार नगरिएमा कानुनबमोजिम आवश्यक कारबाही गरिने जनाएको छ ।सो सूचनाको विस्तृत विवरण विभागको वेभसाइटमा प्राप्त गर्न सकिने विषय उल्लेख गर्दै नवीकरण गर्दा आवश्यक पर्ने आधारभूत कागजातको अतिरिक्त गुगल प्लस कोड पीजेप्लस गुगल्स लोकेसन र मौजुदा सबै सञ्चालक एवं कार्यरत कर्मचारीहरूको विवरणसमेत निवेदन साथ पेस गर्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।
विभागले यसअघिका वर्षहरूमा प्रत्येक वर्ष सूचना निकालेर कानुनमा भएको व्यवस्थालाइ आह्वान गर्ने गरेकोमा यस वर्षदेखि प्रचलित कानुनमा भएको प्रावधानबमोजिम सम्बन्धित संस्थाले अद्यावधिक गर्नुपर्ने विभागका महानिर्देशक भट्टराईले जानकारी दिनुभयो ।कानुनमा भएको व्यवस्था प्रत्येक वर्ष असार महिनाभित्र इजाजत प्राप्त संस्था एवं अभिमुखीकरण तालिम प्रदायक संस्था र असोज मसान्तभित्र म्यानपावरका शाखा कार्यालय नवीकरण गरिसक्नुपर्ने महानिर्देशक भट्टराईले जानकारी दिनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।