
काठमाडौं ।
वरिष्ठ पत्रकार दिलभुषण पाठकविरुद्ध समाचार लेखेकै आधारमा पक्राउ पुर्जी जारी भएको घटनालाई नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेपको रूपमा लिएको छ ।
इन्जाका अध्यक्ष गुणराज लुइटेलले समाचारप्रति असन्तुष्टि भए प्रेस काउन्सिलजस्तो संवैधानिक निकायमा उजुरी दिने विधि हुँदाहुँदै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएर पक्राउ पुर्जी जारी गर्नु संविधान विपरीतको कार्य भएको बताएका छन् । “प्रेस काउन्सिलमार्फत न्याय खोज्न सकिने कानुनी बाटो हुँदाहुँदै प्रहरीलाई प्रयोग गरेर पत्रकारलाई अपराधी झैँ प्रस्तुत गर्नु लोकतान्त्रिक राज्यका लागि लाजमर्दो अवस्था हो,” उनले भने ।
इन्जाका महासचिव दीपक रिजालद्वारा जारी विज्ञप्तिमा समाचारका कारण राज्यले पत्रकारलाई अपराधी ठान्दै गिरफ्तारी प्रक्रिया अगाडि बढाउनु प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप र सत्ताको दुरुपयोग भएको स्पष्ट उल्लेख छ । “राज्यद्रोह गरेजस्तो गरी पक्राउ पुर्जी जारी हुनु आम पत्रकार समाजका लागि चिन्ताको विषय हो,” विज्ञप्तीमा भनिएको छ ।
इन्जाले हालै जिल्ला अदालत काठमाडौंबाट नेपालखबर डटकम र बिजमाण्डु डटकममा प्रकाशित समाचारबारे जारी गरिएको अल्पकालीन अन्तरिम आदेशप्रति पनि गम्भीर आपत्ति जनाएको छ ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले तथ्यहीन समाचार प्रकाशित नगर्न र पहिले प्रकाशन भएका हटाउन आदेश दिएकोप्रति इन्जाले गम्भीर असहमति जनाएको छ ।
इन्जाको ठहरमा, सञ्चारमाध्यमले प्रकाशित वा प्रशारित गरेका सामग्रीबारे चित्त नबुझेको अवस्थामा प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्नु प्रेस स्वतन्त्रताको मान्य र संविधानसम्मत बाटो हो । अदालतको उक्त आदेश संविधानको प्रस्तावनामै सुनिश्चित गरिएको ‘पूर्ण प्रेस स्वतन्त्रता’ को भावनाविपरीत रहेको इन्जाको भनाइ छ ।
इन्जाले लोकतन्त्रमा न्यायालयको आदेश पालना गर्नुपर्छ भन्ने मान्यता राख्दछ, तर प्रेस स्वतन्त्रताको संवैधानिक मर्म र अन्तर्राष्ट्रिय अभ्यास विपरीत हुने आदेशप्रति आपत्ति जनाउँदै उक्त आदेशको पुनर्विचार गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
इन्जाले पत्रकार आचारसंहिताको पालनासहित सत्य र प्रमाणमा आधारित समाचार प्रकाशन गर्न सम्पूर्ण सञ्चारमाध्यमलाई आग्रह गर्दै पत्रकारमाथि हुने दमन, पक्राउ र दुरुपयोगका प्रयासविरुद्ध सशक्त आवाज उठाउने प्रतिबद्धता जनाएको छ ।
यस प्रकारका घटनाले मुलुकमा प्रेस स्वतन्त्रता खुम्चिँदै गएको सन्देश दिने भन्दै इन्जाले सम्पूर्ण सरोकारवाला पक्षलाई संविधान, विधि र पत्रकारिता अभ्यासको सम्मान गर्न पनि आग्रह गरेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।