
काठमाडौं ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथिको छानबिनका विषयमा सत्ता र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा संसद् पुनः बिहीबारसम्मका लागि स्थगित भएको छ । विपक्षी दल नेकपा माओवादी केन्द्रले अघि सारेको दुईबुँदे प्रस्तावमा सत्तारुढ दल नेपाली कांग्रेस, एमालेसहितका दल सहमत देखिए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचबुँदे प्रस्तावलाई भने सत्तारुढ दलले अस्वीकार गरेका छन् ।
एमाले सचिव योगेश भट्टराईले माओवादीको दुईबुँदे ड्राफ्टमा सत्ता गठबन्धनको सहमत रहेको बताउनुभयो । ‘रास्वपाले पठाएको पाँचबुँदे प्रस्ताव छलफलयोग्य छैन । हामी माओवादीले अघि सारेको सहमतिमा छौं’ –उहाँले भन्नुभयो ।
भट्टराईका अनुसार माओवादीको प्रस्तावमा पहिलो बुँदामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिनमा सरकारले पूर्ण सहयोग गर्ने र दोस्रो बुँदामा अध्यागमन प्रणालीमा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि संरचनागत सुधार गर्ने प्रतिबद्धता जनाइएको छ ।
तर, रास्वपाका नेताहरू भने माओवादीको प्रस्तावप्रति असहमति जनाउँदै पाँचबुँदे प्रस्तावमै विपक्षीको एकमत रहेको दाबी गरिरहेका छन् । रास्वपाका नेता डा. तोसिमा कार्कीले भन्नुभयो– ‘हाम्रो प्रस्ताव स्पष्ट र समाधानमुखी छ । छानबिनबिनाको सहमति जनतामाथिको धोका हुन्छ ।’
प्रमुख प्रतिपक्षी दल माओवादीका उपमहासचिव वर्षमान पुनले भने सरकारले संसद् चालू गर्न गम्भीर चासो नदेखाएको आरोप लगाउनुभयो । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुनले भन्नुभयो– ‘भिजिट भिसा प्रकरण आमजनताको इस्यु बनिसकेको छ, प्रतिपक्षको माग ठिक होइन भने सरकारले त्यसको उत्तर दिनुपर्छ । नत्र हामीले उठाएको माग सम्बोधन गर्नुपर्छ ।’
संसद् गतिरोधको असर बजेटमाथिको छलफलमा समेत परेको छ । आर्थिक वर्ष २०८२÷०८३ को बजेटमाथि मंगलवारदेखि नै छलफल शुरू हुनुपर्नेमा विपक्षी दलको निरन्तर अवरोधका कारण कार्यसूची अघि बढ्न सकेको छैन ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिपक्षी गम्भीर भए संसद् सहजै चल्न सक्ने बताउनुभयो । थापाले संसद् चल्न नसक्दा बजेट निर्माण प्रक्रिया नै प्रभावित हुने चेतावनी पनि दिनुभयो । ‘जनताको पैसा जनतामै खर्च हुने निर्णय संसद्मार्फत हुन्छ, संसद् नै थन्किए बजेटले अर्थ राख्दैन’ –उहाँले जोड दिनुभयो ।
सरकार पक्षले माओवादीको प्रस्तावलाई अगाडि बढाउने तयारी गरे पनि विपक्षीहरू असहमत रहेपछि संसद् बैठक बुधबारका लागि तय भए पनि आज बिहीबारसम्मका लागि पुनः स्थगित गरिएको हो । सत्ता र विपक्षबीच सहमति जुट्न नसके बिहीबारको बैठक पनि अन्योलमा पर्न सक्ने देखिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।