
रौतहट।
स्थानीयद्वारा पूर्व पश्चिम राजमार्गको चन्द्रपुर–१ बागमतीमा गरेको चक्काजाम सात घण्टा पछि खुलेको छ। पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका वडानम्बर १ को बागमती खण्डमा बिहीबार सवारी साधनको ठक्करबाट चन्द्रपुर–१, मंगलपुरका ३५ वर्षीय बुद्ध जिम्बाको मृत्यु भएपछि स्थानीयले गरेको चक्काजाम सहमति पछि सञ्चालनमा आएको छ ।
ठक्कर दिने सवारी साधन र चालक फरार भएपछि स्थानीय आक्रोशित हुँदै बिहान ६ बजेदेखि दिउँसो १ बजे सम्म चक्काजाम गरेका थिए । राजमार्ग जाम भएका कारण पूर्व पश्चिम गन्तव्यमा सबार यात्रुहरूको बिचल्ली भएको थियो ।
प्रहरीले ठक्कर दिएको आशकित सवारी साधन नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ । राजमार्गमा जडान गरिएको सिसिटिभी क्यामरा मार्फत ठक्कर दिने सवारी साधनको पहिचानका लागि जाँच भइरहेको प्रहरीले जनाएको छ । पीडित पक्षलाई न्याय दिलाउने र भगाइएको सवारी साधन नियन्त्रणमा लिएर कानुनी कारबाहीको लागि अनुसन्धान अघि बढाइने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।