
काठमाडौं ।
मुलुकमा सुन तस्करीको क्रम अत्यधिक रहेको पाइएको छ । राजस्व अनुसन्धान विभागका अनुसार आर्थिक वर्ष २०८१\८२ को वैशाख महिनासम्म विभागले सुन तस्करीविरुद्ध १८ वटा मुद्दा दायर गरेको छ ।
विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले सुन तस्करीको क्रम अत्यधिक रहेकाले सुन तस्करीविरुद्ध सबैभन्दा बढी मुद्दा दायर भएको जानकारी दिनुभयो । घिमिरेका अनुसार चालू आवको वैशाखसम्म मात्रै सुन तस्करीविरुद्ध १८ वटा मुद्दा दायर भएको छ । सो मुद्दामा ४७ जना प्रतिवादी बनाइएको छ । यसै गरी सुन तस्करी गर्नेविरुद्ध १ अर्बं ३३ करोडको बिगो मागदाबी गरिएको विभागले जनाएको छ ।
विभागले केही समयअघि काठमाडौंको टोखामा सुन तस्करीका लागि लैजाँदै गरिएको २५ करोड रुपियाँ बरामद गरेको थियो । सो रकमको अनुसन्धान गर्ने क्रममा टोखामा बस्ने सिन्धुपाल्चोकका युवराज पौडेल सुन तस्करीमा प्रत्यक्ष संलग्न रहेको पाइएपछि विभागले उनीविरुद्ध मुद्दा दायर गरिसकेको छ ।
फरार रहेका पौडेललाई प्रहरीले लामो समयदेखि पक्राउ गर्न सकेको छैन ।पछिल्ला दिनमा पनि सुन तस्करी हुने क्रम बढिरहेको भए पनि प्रहरीले सुन तस्करलाई पक्राउ गर्ने क्रमलाई गति दिन सकेको छैन । राजस्व अनुसन्धान विभागका अनुसार सुनपछि सबैभन्दा बढी तस्करी कपडामा हुने गरेको पाइएको छ । विभागले यस अवधिमा कपडा तस्करी गर्नेविरुद्ध ७ वटा मुद्दा दायर गरेको छ । त्यस क्रममा ४० जनालाई प्रतिवादी बनाइएको छ । कपडा तस्करी गर्नेहरूबाट विभागले ५७ करोढ ६० लाख विगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।
यसै गरी चालू आवको वैशाससम्म नक्कली बिलको प्रयोग गरी राजस्व छली गर्ने ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूसँग १ अर्ब २८ करोडको बिगो माग गरिएको छ । यसै गरी विभागले सोही अवधिमा भेप तस्करीविरुद्ध ४ मुद्दामा १९ जनालाई प्रतिवादी बनाइएको छ । भेप तस्करी गर्नेहरूसँग २४ करोड ८० लाख बिगो माग गरिएको विभागले जनाएको छ । विभागका अनुसार जुत्ता तस्करी र अन्य गरी ११ वटा थप मुद्दा दायर गरिएको छ । ती मुद्दामा ३५ जनालाई प्रतिवादी बनाइएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।