
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चितवनमा छापामारी दुई जनालाई नियन्त्रणमा लिएको छ ।
अख्तियारको टोलीले कार्यालय सहायक ४९ वर्षीय इन्द्रजित गुरुङ र गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–११ बस्ने ३१ वर्षीय बिचौलिया सुरज पाठकलाई नियन्त्रणमा लिएको छ ।
त्यसक्रममा कार्यालय सहायक गुरुङको कार्यकक्षबाट १ लाख ८५ हजार रुपैयाँ नगद समेत बरामद गरेको अख्तियारले जनाएको छ । अख्तियारको टोलीले कार्यालय प्रमुख बिष्णु भट्टराई लगायत अन्य २२ जना कर्मचारी, ड्राइभिङ सेन्टरका सञ्चालकहरूको समेत विद्युतीय उपकरणहरू ३१ थान मोबाइल, २ थान ल्याप्टप र महत्त्वपूर्ण कागजातहरू समेत कब्जामा लिएको छ ।
सवारीचालक अनुमति पत्रको परीक्षा सञ्चालन गर्दा फेल भएका परीक्षार्थीलाई उत्तीर्ण गरी वर्ग अनुसार १५–२५ हजार रुपैयाँसम्म रकम असुल गरी भ्रष्टाचार गरेको भन्ने सूचनाको आधारमा छापा मारिएको अख्तियारले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।