
काठमाडौं ।
मध्यपूर्व फेरि एकपटक युद्धको चपेटामा परेको छ । इजरायलले इरानमाथि गरेको आक्रमण र त्यसको प्रत्याक्रमणमा इरानबाट ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएपछि स्थिति जटिल बन्दै गएको छ । दुवै देशबाट भयानक हवाई आक्रमण र क्षेप्यास्त्र प्रहारसँगै युद्धको घोषणा त नभए पनि अन्तर्राष्ट्रिय समुदायमा गम्भीर चिन्ता उत्पन्न भएको छ ।
इजरायली सञ्चारमाध्यमका अनुसार हालसम्मको हमलामा कम्तीमा ३ जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन्, तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । तेहरानस्थित संयुक्त राष्ट्रसंघका लागि इरानी राजदूतले भने इजरायली आक्रमणमा वरिष्ठ सैन्य अधिकारीसहित ७८ जनाको मृत्यु भएको र ३ सय २० भन्दा बढी घाइते भएको पुष्टि गरेका छन् । मारिने र घाइते हुनेमा अधिकांश सर्वसाधारण रहेका छन् ।
इरानले प्रहार गरेका क्षेप्यास्त्रहरूबाट इजरायली सहरहरूमा बारम्बार साइरन बज्ने अवस्था आएको छ । तेलअभिभ, जेरुसलेमजस्ता मुख्य सहरहरूमा विस्फोटका आवाजहरू सुनिएका छन् भने आकाशमा कालो धुवाँ देखिएको छ । बीबीसी र एएफपीका संवाददाताका अनुसार तेहरानमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा ठूलो आगलागी र विस्फोट देखिएको छ ।
इजरायली डिफेन्स फोर्सेसले इरानका इस्फहान, फोर्डो र नटान्जस्थित प्रमुख परमाणु केन्द्रहरूमा आक्रमण गरेको पुष्टि गरेको छ । यस्ता केन्द्रमा भएको क्षतिको आँकडा सार्वजनिक नगरिए पनि केही संरचना पूर्ण रूपमा ध्वस्त भएको अनुमान गरिएको छ ।
शक्तिको तुलना
इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजका अनुसार इजरायलसँग ३ सय ४० भन्दा बढी युद्धक विमान छन्, जसमा एफ–१५, एफ–१६, एफ–३५ जस्ता अत्याधुनिक विमान, हेलिकोप्टर र ड्रोनहरू रहेका छन् ।इरानसँग ३२ वटा लडाकु विमान छन्, तीमध्ये धेरैजसो पुराना छन् । जसका लागि पार्टपुर्जा पाउनसमेत कठिन मानिन्छ । इजरायलसँग आइरन डोम नामक मिसाइल रक्षा प्रणाली छ, जसले थुप्रै क्षेप्यास्त्रहरू आकाशमै ध्वस्त गर्ने क्षमता राख्दछ ।
इरानमा अहिले के कस्ता हतियार छन् भन्ने आँकडा भने सार्वजनिक भएको छैन । इजरायले आक्रमण गरेपछि इरानले जमिनमुनि रहेको आफ्ना आधुनिक हतियार प्रदर्शन गरेको छ । पश्चिमा मिडियाले इरान कमजोर भएको भन्दै गरेको विश्लेषणपछि ती ब्यालेस्टिक क्षेप्यास्त्रहरूको भिडियो सार्वजनिक गरेको हो ।
अमेरिकी समर्थन र चीनको आलोचना
सुरक्षाविद् डा. सञ्जीव आचार्य भन्नुहुन्छ– ‘अमेरिकाले आन्तरिक राजनीतिक अस्थिरता र आलोचनाबाट ध्यान हटाउन इजरायललाई उचालेर मध्यपूर्वमा अशान्ति बढाउने काम गरेको देखिन्छ ।’ उहाँका अनुसार यो रणनीति ट्रम्प प्रशासनले सन् २०१८–२० मा अपनाएको शैलीकै निरन्तरता हो । चीनले इजरायली आक्रमणको आलोचना गर्दै दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले भनेका छन्– ‘शान्ति स्थापनाका लागि वार्ता र कूटनीति नै एकमात्र विकल्प हो ।’
नेताहरूको धारणा र चेतावनी
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यस आक्रमणलाई इतिहासकै सबैभन्दा ठूलो सैन्य कारबाहीमध्ये एक भएको बताउनुभएको छ । उहाँले चेतावनी दिँदै भन्नुभएको छ– ‘यो आक्रमण आवश्यक परे कैयौं दिनसम्म चल्न सक्छ ।’
इरानका सर्वोच्च नेता अली खामेनीले इजरायलले युद्ध शुरू गर्यो, अब त्यसको जवाफ हाम्रो हातमा छ ।
हामी ठूलो प्रहार गर्नेछौं भन्नुभएको छ । तेहरानमा इजरायलविरुद्ध खुसीयाली मनाइएका तस्वीरहरू सार्वजनिक भएका छन् । इरानको इस्लामिक रिभोलुसनरी गार्डले दर्जनौं इजरायली सैन्य अखडा र विमानस्थलमाथि हमला गरेको दाबी गरेको छ । उक्त कारबाहीलाई ‘साँचो प्रतिज्ञा तीन’ नाम दिइएको छ ।
इजरायल–इरानबीचको यो झडप कतै तेस्रो विश्वयुद्धको संकेत त हैन भन्ने त्रास बढ्दो छ । दुवै राष्ट्र हतियारले सुसज्जित छन् । यदि अन्तर्राष्ट्रिय कूटनीति तत्काल सक्रिय भएन भने यस संकटले समग्र एसियाली क्षेत्रको सुरक्षा र स्थायित्वलाई ठूलो जोखिममा पार्न सक्छ ।
हजारौं नेपालीको सुरक्षाप्रति चासो
इरान र इजरायलबीच चर्किंदो सैन्य तनावले मध्यपूर्व क्षेत्रमा नयाँ संकटको बादल मडारिँदा दुवै देशमा रोजगारी तथा अध्ययनका लागि पुगेका नेपालीहरूको सुरक्षाप्रति चासो बढेको छ ।हाल इरानमा रहेका नेपालीहरूको संख्या करिब ५ सय हाराहारीमा रहेको परराष्ट्र मन्त्रालयले अनुमान गरेको छ । तीमध्ये केही नेपालीहरू विद्यार्थी र अन्य प्राविधिक तथा अनौपचारिक रोजगारीमा संलग्न छन् । इरानमा नेपाली राजदूतावास नभएकाले त्यहाँ रहेका नेपालीहरूले कन्सुलर सेवा प्राप्त गर्न काठमाडांैस्थित मन्त्रालयमा सम्पर्क गर्नुपर्ने बाध्यता छ ।
इजरायलमा भने करिब १२ हजार नेपालीहरू वैदेशिक रोजगारीमा रहेका छन् । इजरायलमा नेपाली दूतावास क्रियाशील रहेकाले आपत्कालीन परिस्थितिमा नेपालीहरूलाई जानकारी दिने काम भइरहेको छ ।तेलअभिभस्थित नेपाली दूतावासले विज्ञप्ति निकाल्दै सबै नेपालीहरूलाई अत्यावश्यक नपरेसम्म घरबाहिर ननिस्कन, सुरक्षाको उपाय अपनाउन र स्थानीय सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ ।
नेपाल सरकारको तर्फबाट हालसम्म द्वन्द्वग्रस्त क्षेत्रका नेपालीहरूको सुरक्षाका लागि ‘नजिकबाट निगरानी राखिरहेको’ प्रतिक्रिया मात्र आएको छ । परराष्ट्र मन्त्रालयले इजरायलस्थित नेपाली दूतावास र काठमाडौंस्थित समन्वय केन्द्रमार्फत सूचनाको अद्यावधिक गरिरहेको दाबी गरेको छ ।
अन्तर्राष्ट्रिय मामिलाका जानकार प्राडा रामकृष्ण पोखरेल भन्नुहुन्छ– ‘नेपाल सरकारले कुनै पनि द्वन्द्वग्रस्त क्षेत्रमा रहेका आफ्ना नागरिकको अवस्थालाई अत्यन्त गम्भीर रूपमा लिनुपर्छ । विशेषगरी इजरायल र इरानजस्ता सैन्य गतिविधिमा चाँडो बदलिने देशमा जोखिम व्यवस्थापन रणनीति बनाउन ढिला गर्नु हुँदैन ।’
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।