
–मेयर एकातिर, उपमेयर र वडाअध्यक्ष अर्कैतिर
–मिल्न लागेको सम्बन्ध फेरि भाँडियो
–मेयरको रिसइबीले बजेटमा समस्या
काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको एकोहोरो ढिपीको कारण कार्यपालिका र नगरपरिषद् बैठक अनिश्चित बनेको छ । तीन दिनअघि मेयर साह र उपमेयर सुनिता डंगोलबीच भएको एक्लाएक्लै छलफलमा कार्यपालिका बैठक बोलाउने अनौपचारिक सहमति भएको दुई दिन बित्न नपाउँदै असहमति बढेको छ । जसले गर्दा कार्यपालिका र परिषद्को बैठक हुने वा नहुने अन्यौल सिर्जना भएको छ ।
कामपाका प्रमुख प्रशासकीय अधिकृत एवं कार्यपालिकाका सदस्यसचिव सरोज गुरागाईंलाई सहभागी नगराई गर्ने बैठकको औचित्य नभएको भन्दै उपमेयर सुनिता डंगोलका साथै वडा अध्यक्षहरूले बैठकमा नबस्ने अडान लिएका छन् ।स्रोतका अनुसार मेयर साहले प्रपअ गुरागाईंसँग रिसिबी साधेका कारण कामपा अनिर्णयको बन्दी भएको छ । शुक्रवार स्रोत परिचालन समितिको बैठक बस्ने तयारी थियो । तर, मेयर साहले विवादमा परेका कार्यकारीलाई बैठकमा राख्न नहुने अडान राख्दै गुरागाईंलाई नराखीकन बैठक बस्न आग्रह गरेपछि बैठक भाँडियो ।
कार्यकारी बिनाको बैठकको कानुनी मान्यता नहु्ने भएकोले उपमेयर र वडाअध्यक्षले बैठक नबस्ने अडान लिएका थिए । मेयर साहले भने स्वकीय सचिव भुपदेव साहमार्फत प्रपअ गुरागाईंलाई बैठकमा नबसी हस्ताक्षर गरिदिन आग्रह गनुभएको थियो । उच्च स्रोतका अनुसार स्वकीय सचिव साहले पटक पटक प्रपअलाई सहयोग गरिदिन आग्रह गनुभएको थियो । सो आग्रहलाई कार्यकारी प्रपअ मात्र होइन, ४१ सै जना कार्यपालिका सदस्यले अस्वीकार गरेका थिए ।
बैठक बस्न नसकेपछि निकासा कसरी निकाल्ने भन्ने विषयमा उपमेयर डंगोल र प्रवक्ता नवीन मानन्धरबीच आज आइतबार छलफल हँुदैछ । छलफलबाट आउने निचोडको आधारमा अघि बढ्ने निर्णय भएको छ । प्रवक्ता मानन्धरले भन्नुभयो– ‘यही अवस्थामा कामपालाई अनिर्णयको बन्दी बनाए मेयरबाहेक सबै कार्यपालिका सदस्य बसेर नयाँ ढंगको निर्णय गर्ने तयारीमा छौं ।’
यसैबीच नेपाली कांग्रेस र एमाले निकट वडाअध्यक्षहरूको पटकपटक बैठक बसेको छ । बैठकले मेयर साहको मनपरी तन्त्रको विरोध गर्ने सामूहिक निर्णय गरेको छ ।कार्यपालिका र नगरपरिषद्को बैठक बस्ने सुरसार नभएपछि प्रपअ गुरागाईंले बजेटको विषयमा सबै विभागीय प्रमुखसँग छलफल गर्नुभएको छ ।
उहाँले आएका योजनाहरू सबै संकलन गरी कुन विभागलाई कति बजेट आवश्यक पर्छ सोहीअनुसार प्रतिवेदन तयार गर्न सबै विभागीय प्रमुखलाई निर्देशन दिनुभएको छ । सो प्रतिवेदनको आधारमा अब विभागगत रूपमा बजेट तयार गर्न प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले सबै समितिका संयोजकलाई निर्देशन दिइसकेको जानकारी दिँदै भन्नुभयो– ‘हामी तयारीमा छौं, मेयर र उपमेयर ज्युले बजेट अधिवेशन राख्ने निर्णय गर्नासाथ बजेट तयारी भएर प्रक्रिया अघि बढ्नेछ ।’
कानुनतः नीति तथा कार्यक्रम र बजेट पारित गर्न नगर कार्यपालिका बैठक र नगरसभा दुवै अनिवार्य छ । मेयर साह र उपमेयर डंगोलबीच बुधबार बसेको बैठकबाट कुनै पनि निर्णय नभएपछि बिहीबार पुनः बैठक बस्ने तय भएको थियो । तर, उपमेयरको व्यवस्तताका कारण रोकिएको बैठक फेरि बस्न सकेको छैन ।
नगर परिषद्को बैठकले बजेट पारित गर्नुअघि मेयर साह अध्यक्ष रहेको स्रोत अनुमान समितिको बैठक बस्नुपर्छ । शुक्रवार बस्ने तय भएको स्रोत अनुमान समितिको बैठक बस्न सकेको छैन । मेयरले पप्रखलाई नराखी बैठक बस्ने जनाएपछि बैठक भाँडिएको हो ।सो बैठकले गरेका निर्णय कार्यान्वयन गर्न उपमेयर संयोजक रहेको बजेट तर्जुमा समितिको बैठक बस्नुपर्छ । दुवै बैठकले पारित गरेको बजेट नीति तथा कार्यक्रम कार्यान्वयन गर्न नगर परिषद्को बैठक बस्नुपर्ने व्यवस्था छ । हालसम्म कुनै पनि समितिको बैठक बसेको छैन ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।