
रौतहट।
आगामी आर्थिक वर्षको लागि राजपुर नगरपालिकाको नगर सभाले आइतबार नीति कार्यक्रम र बजेट पारित गरेको छ । रौतहटको १८ वटा पालिका मध्ये राजपुर नगरपालिकाले सबै भन्दा पहिले नगरसभा गर्दै संवृद्ध नगर र सुखी नगरबासीको लागि स्थानीय स्तरको समावेशी विकास, वातावरण संरक्षणको लागि रुख बिरुवा रोप्ने अभियान थालिने, डिजिटल प्रशासनका साथै विद्यालयमा स्मार्ट कक्षा सञ्चालन गर्ने, महिला सशक्तीकरण र उद्यमशीलता बनाउन उनीहरुको उधमशीलमा छुटको व्यवस्था गरिने लगायत युवालाई नगरमै रोजगारको प्रबन्ध मिलाउँदै लगिने तथा कृषकहरुको जीवनस्तर उकास्न सिचाई लगायतको आबश्यक्ताको प्रबन्ध गरिने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।
राजपुर नगरपालिकाका प्रमुख डाक्टर मोहम्मद राजिक आलमले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ५७ करोड अनुमानित बजेट खर्च हुने सभामा प्रक्षेपण गरेका छन् । नगरप्रमुख डाक्टर मोहम्मद राजिक आलमले आगामी आर्थिक वर्षको कार्तिक मसान्त सम्ममा १५ शय्याको नगर अस्पतालको भवन निर्माण गरी सञ्चालनमा ल्याइने बताए ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजपुर नगरपालिकाले बिरामीसंग मेयर, जेष्ठ नागरिकसँग मेयर, मेयरसँग शैक्षिक प्रतियोगिता, बालश्रम न्यूनीकरण र बालविवाह मुक्त नगरपालिका बनाउने कार्य गरिनेछ । उनले नीति कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख आलमले जनअपेक्षा अनुरुप विकासका योजना बनाउने र जनचाहनाको आवश्यकता र प्राथमिकतालाई मुख्य आधार बनाई नगरको कार्यसम्पादनमा पारदर्शिता र जवाफदेहितालाई बिशेष महत्व दिइएको बताए । नगर प्रमुखको आतिथ्यतामा नगरसभामा उपप्रमुख, वडाअध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।