काठमाडौँ।
नेपालको प्रथम विद्यार्थी आन्दोलन जयतु संस्कृतम्को ७८ औँ स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । नेपाल विद्यार्थी संघ, वाल्मीकि विद्यापीठ एकाई समितिको आयोजनामा दरवारमार्ग काठमाडौंमा रहेको संस्कृत स्तम्भमा माल्यार्पण गरेर कार्यक्रम प्रारम्भ गरिएको थियो ।
कार्यक्रमका बोल्दै प्रमुख अतिथि नेपाल तरुण दलका केन्द्रीय समिति सदस्य कृष्ण रिजालले जयतु संस्कृतम् आन्दोलन नेपाली विद्यार्थीहरुको चेतनाको पहिलो झिल्को भएको बताए । सोही झिल्कोको जगमा नेपाली लोकतन्त्रको आकाशमा हजारौं स्वतन्त्रताका तारा चम्किरहेको उनको भनाई थियो ।
कार्यक्रममा जयतु संस्कृतम् संस्थाका सचिव नवराज कट्टेल, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका पूर्व स्ववियु सभापती श्यामराज ओझा, त्रिचन्द्र क्याम्पसका स्ववियु सभापति गोविन्द कोइराला, पद्मकन्या क्याम्पसकी स्ववियु सभापती भूपी ऐर, आर आर क्याम्पसका स्ववियु सचिव शैलेन्द्र उपाध्याय, कैलाशकुट क्याम्पसका स्ववियु सभापति मुरारी गौतम, नेपाल संस्कृत विश्वविद्यालयका सभासद विद्यार्थी नेता नारायण बश्याल एवं त्रिचन्द्र क्याम्पस नेविसंघ सभापती अमृत शाही एवं नेविसंघ केन्द्रीय सदस्यहरु सुशान्त आचार्य, महेश्वर पौडेल, भानुभक्त जोशी ,विवेक बानियाँ एवं एन पी जोशी लगायातले जयतु संस्कृतम् आन्दोलनको विषयमा बोलेका थिए ।

नेविसंघ वाल्मीकि एकाई समितिका का. वा. अध्यक्ष जगदीश भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा तीनधारा संस्कृत छात्रावासका विद्यार्थीहरुले स्वस्तिवाचन गरेका थिए। कार्यक्रम ७८ वटा दीप प्रज्ज्वलन गरेर समापन गरिएको थियो ।
वि.सं. २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकका विरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाउने परम्परा रहेको छ ।
संस्कृत भाषाको अलावा अंग्रेजी, भूगोल, गणित लगायतका आधुनिक विषयहरु अध्ययन गर्न पाउनुपर्ने माग राखेर शुरु भएको आन्दोलन पछि जहानियाँ राणा शासनका विरुद्धमा केन्द्रित भएको थियो । तात्कालीन राणा शासकले तीनधारा पाठशालाबाट चार पाटा मुडेर कटाएपछि उनै विद्यार्थीहरुले जहानियाँ राणा शासनको विरोध गर्दै देशभर जागरण फैल्याएका थिए ।
निष्कासित विद्यार्थीहरुले देशका विभिन्न भागमा स्वतन्त्रताको निम्ति चेतनाको विगुल फुकेका थिए । वनारसमा राणा शासनको अन्त्य गर्न प्रवासमा रहेका नेपालीलाई गोलबद्ध गरिरहनुभएका नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालालगायत नेतासँग जयतु संस्कृतम् का अगुवाहरु पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मा लगायतले भेटघाट गरी प्रजातन्त्र स्थापनाको आन्दोलनमा सहभागी भएका थिए । त्यसबेला असार १ गते विद्यार्थीले आन्दोलन शुरु गरेको सम्झनामा प्रत्येक वर्ष यसै दिन जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।