
काठमाडौं ।
इजरायल र इरानबीचको द्वन्द्वले अहिले चरम रूप लिएको छ । इरानले भित्रभित्रै आणविक हतियार उत्पादन गरिरहेको ठहर गर्दै इजरायलले आक्रमणलाई तीव्र बनाएको छ भने इरानले पनि इजरायली साइबर प्रणालीमा आक्रमणको प्रयास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
इजरायलले इरानमाथि आकस्मिक रूपमा आक्रमण गरेपछि जवाफी कारबाहीमा उत्रिएको इरानले पनि प्रत्याक्रमणलाई तीव्रता दिएको छ । हाल दुवै मुलुक हवाई आक्रमण, साइबर युद्ध र प्रविधिमा आधारित आक्रमणमा केन्द्रित छन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निवास क्षेत्रनजिकै इरानले क्षेप्यास्त्र आक्रमण गरेपछि अवस्था थप संवेदनशील बनेको छ । इजरायलले पनि तेहरान आसपासका सैन्य पूर्वाधार र बस्तीतिर आक्रमण बढाएको छ ।
बीबीसीका मध्यपूर्व संवाददाता ह्युगो बाचेगाका अनुसार, तेहरानको अवस्थाले २०२० को लेबनान विस्फोटपछि देखिएको आम भागदौड सम्झाउने अवस्था आएको छ ।
इजरायलको प्रारम्भिक एयरस्ट्राइकयता इरानमा कम्तीमा २२४ जना मृत्यु भएको छ भने १ हजार २ सय ७७ घाइते भएको जनाइएको छ ।
इजरायलमा इरानी मिसाइल एवं ड्रोन आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु र ४९४ भन्दा बढी घाइते भएका बताइएको छ ।
अन्तर्राष्ट्रिय रणनीतिक अनुसन्धान संस्थानले यो युद्ध अझै फैलियो भने यमन, लेबनान र सिरियासम्म असर पु¥याउने ठोकुवा गरेको छ ।
इरान र इजरायलबीचको पछिल्लो लडाइँले मध्यपूर्वलाई मात्रै होइन, सम्पूर्ण विश्व राजनीतिलाई नयाँ मोड दिएको छ । युद्धको असर हतियार र मानिसमा मात्र नभई प्रविधि, गुप्तचर, साइबर प्रणाली र कूटनीतिक सम्बन्धमा पनि गहिरिँदै गएको छ ।
तेहरानका बासिन्दा राजधानी छाडेर सुरक्षित स्थलतर्फ पलायन हुन थालेका छन् । पेट्रोल पम्पहरूमा लाइन लागेको, सडकमा ट्राफिक बढेको, र इन्टरनेट सेवा कमजोर बनाइएको खबर आइरहेका छन् ।
विश्व दुई ध्रुवमा बाँडियो
यो युद्धले अन्तर्राष्ट्रिय राजनीति फेरि दुई ध्रुवमा विभाजित भएकोे छ । अमेरिका, बेलायत र फ्रान्स इजरायलको समर्थनमा उभिएका छन् भने, इरानको पक्षमा रूस, चीन, उत्तर कोरिया र सिरियाजस्ता देश देखिएका छन् । संयुक्त राष्ट्रसंघले संयम अपनाउन आग्रह गरिसकेको छ ।
नेपालीको अवस्था
हालसम्म इजरायल र इरानमा रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री डा.आरजु राणाले इजरायलका लागि नेपाली राजदूत, दोहास्थित नेपाली दूतावास र इजरायली राजदूतसँग सम्पर्क गरी नेपालीको सुरक्षाका लागि तत्कालीन कदम चाल्न निर्देशन दिनुभएको छ ।
त्यसै गरी, आइतबार परराष्ट्र मन्त्रालयले इजरायल–इरान द्वन्द्वलाई नजिकबाट निगरानी गरिरहेको र आवश्यक परेमा थप कदम चाल्ने बताएको छ । मन्त्रालयले कुनै पनि आपतको अवस्था आए दूतावासमा तोकिएको व्यक्तिलाई सम्पर्क गर्न आग्रह गरेको छ ।
भौतिक संरचनाको अवस्था
इरानमा तेल, ग्यास, आणविक एवं सैन्य प्रतिष्ठानलाई लक्षित गर्दै हवाई तथा क्षेप्यास्त्र आक्रमणका कारण आर्थिक एवं पर्यावरणीय जोखिम उत्पन्न भएको छ ।
इजरायलको तेल र रक्षा मन्त्रालयको प्रशासकीय भवनमा समेत क्षति पुगेको छ । तेलअभिभ, रमतगानमा एक आधुनिक आवासीय भवन पूर्णतः क्षतिग्रस्त बनेको छ भने करिब ९ वटा भवन भत्किएका छन्, हजारौं विस्थापित भएका छन् ।
जी–७ राष्ट्र तथा ईयूले दुवै पक्षलाई संयम अपनाउन र कूटनीतिक समाधानतर्फ अग्रसर हुन आग्रह गरेको छ ।
क्यानडामा सम्पन्न जी–७ सम्मेलनले इजरायल–इरान स्थिति ‘गम्भीर’ र क्षेत्रीय अस्थिरताका लागि खतरा’ भन्दै दुवै पक्षलाई तत्काल आक्रमण बन्द गरी कूटनीतिक बाटो अपनाउन आह्वान गरेको हो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।