
गुल्मी ।
ऐतिहासिक मुसिकोट दरबार अहिले पहिरोको जोखिममा परेको छ । सडक विस्तारसँगै दरबार पछाडिको भाग खस्दै गएको छ ।
मुसिकोट नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रममार्फत् एक करोड २५ लाख रुपियाँको लागतमा पहिरो नियन्त्रणको काम भइरहेको मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेलले जानकारी दिए ।
खरेलले मुसिकोटको पहिचान मुसिकोट दरवार पछिल्लो समय पहिरोको जोखिममा परेपछि मुसिकोट नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका १२ योजना मध्ये सबैभन्दा धेरै बजेट विनियोजन गरेर पहिरो नियन्त्रणको काम भइरहेको बताएका थिए ।
यो कामले पहिरोबाट दरवार क्षेत्रलाई जोगाउन ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको खरेलले बताए । मुसिकोट नगरपालिका र स्थानीय पुर्वाधार सहयोग कार्यक्रम मार्फत नगरभित्र तिन करोड बढिका योजनामा काम भइरहेको छ ।
स्वाँरादेखि सालिमे जोड्ने तीन किलोमिटर पदमार्ग निर्माण, कुकुवाखोला थापाटोला चितपानी सिँचाइ, सानीचौर–भर्मचौर–वालुवा सिँचाइ योजना, भुवाचिदीमा कुकुवाखोला तटबन्ध र डाँडाथोक सिँचाइ योजना निर्माणको सम्झौता भएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिए ।
त्यस्तै निस्तीखोला ठूला पहिरो क्षेत्र र दरमखोला बसेरी क्षेत्र तटबन्ध, तल्लाफाँट रिङ्गरोडसँगै नाली तथा सिँचाइ कुलाहरु निर्माण र आगलागी जोखिम रहेको तिलेहार ठूलपोखरी वनक्षेत्रमा विपद् जोखिम न्यूनिकरणका लागि अग्नीरेखा निर्माणको काम हुने गिरीले जिकिर गरे । बिपद्को बाहेक सवै काम कार्यान्वयनमा गएको नगरपालिकाले जानकारी दिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।