२९ असोज , परासी – नवलपरासीबाट टुक्रिएर बनेका दुवै जिल्लाका जिल्ला समन्वय समिति (जिसस) मा नेपाली कांग्रेस विजयी भएको छ । बर्दघाट–सुस्ता पूर्व प्रदेश नं. ४ (नवलपुर क्षेत्र) को जिससमा पूरै प्यानल कांग्रेस विजय भएको छ भने पश्चिम प्रदेश नं. ५ (परासी क्षेत्र) को जिससमा कांग्रेस र फोरम लोकतान्त्रिकको गठबन्धन विजयी भएको छ ।
पूर्वी जिल्लामा कांग्रेसको बहुमत रहेपनि पश्चिम जिल्लामा कांग्रेसलाई बहुमत पु¥याउन एक मत अपुग भएपछि लोकतान्त्रिकलाई उपप्रमुख र एक महिला सदस्य दिने सहमति भएको थियो । कांग्रेसको बहुमत भएपनि दुवै जिल्लामा एमालेले उम्मेदवारी दिएपछि चुनाव भएको थियो । दुवै जिल्लाको समिति ९ सदस्यीय छ ।
नवलपरासीलाई १५ स्थानीय तहमा विभाजन गरेर दुई चरणमा स्थानीय चुनाव भएको थियो । जसअनुसार पूर्वी जिल्लामा ८ र पश्चिममा ७ स्थानीय तह छन् । शुक्रबार भएको निर्वाचनमा पूर्वी जिल्लाको जिसस प्रमुखमा चेसराम आले बुलिङटार गाउँपालिका–१ र उपप्रमुखमा शारदा विक गैंडाकोट–५ विजयी भएका छन् ।
सदस्यहरुमा मुरारीबहादुर घिमिरे, बद्री सापकोटा, लक्ष्मीकान्त पाण्डे र मकरध्वज कुमाल विजयी भएका छन् । त्यसैगरी महिला सदस्यमा ज्ञानुमाया शर्मा, खीमा सारु र तुलसीसरा सोमै मगर बिजयी भएका छन् । उक्त जिल्लामा चार नगरपालिका र चार गाउँपालिका छन्
त्यसैगरी तीन नगरपालिका र चार गाउँपालिका रहेको पश्चिम जिल्लाको जिससप्रमुखमा शिवशंकर राय रामग्राम नगरपालिका–१२ र उपप्रमुखमा अब्दुल रहमान चुरिहार विजय भएका छन् । सदस्यहरुमा कृष्णबहादुर मगर, बजरंगी कोईरी र राजेश यादव छन् । दलित तथा अल्पसंख्यकमा लक्ष्मी वि.क र महिला सदस्यहरुमा चन्द्रकला शर्मा, उषा बञ्जाडे र आशादेवी चौधरी विजयी भएका छन् । पूर्वी जिल्लाको कावासोती र पश्चिमको सदरमुकाम परासीमा चुनाव भएको थियो ।
यो खबर आजको मेचीकाली सन्देशमा छ ।