
काठमाडौं ।
आर्थिक वर्ष २०८१|८२ को अन्त्यसम्म सामाजिक सुरक्षा कोषमा आवद्ध योगदानकर्ताको संख्या २३ लाख ७४ हजार ४८६ पुगेको छ । कोषले सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा ८ लाख ८२ हजार ९४६ ले बढेको हो ।
उक्त अवधिमा कोषमा सूचीकृत रोजगारदाताको संख्या पनि २० हजार ९५१ पुगेको छ । सूचीकृत योगदानकर्तामध्ये औपचारिक क्षेत्रमा ६ लाख १ हजार ८२५, वैदेशिक रोजगारीतर्फ १७ लाख ७१ हजार ५३७ र अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा १ हजार १२४ श्रमिक छन् ।
कोषले चालु आर्थिक वर्षमा मात्र २५ अर्ब ३६ करोड रुपियाँ योगदान रकम संकलन गरेको छ, जससँगै हालसम्म संकलित कुल योगदान रकम ८३ अर्ब ६५ करोड रुपियाँ पुगेको छ। सामाजिक सुरक्षा योजनाअन्तर्गत भुक्तानी सामाजिक सुरक्षा योजनामा आवद्ध भई नियमित योगदान गरेका श्रमिकहरूले विभिन्न योजना अन्तर्गत भुक्तानी पाएका छन्।
स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गत १ लाख १० हजार ६९६ जनालाई २ अर्ब १५ करोड रुपियाँ भुक्तानी दिइएको छ। दुर्घटना तथा अशक्तता सुरक्षा योजना मार्फत ५ हजार ९३३ जनालाई २० करोड रुपियाँ, आश्रित परिवार सुरक्षा योजना अन्तर्गत ७४५ जनालाई २६ करोड रुपियाँ,वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत १ लाख १२ हजार ८६८ जनालाई १३ अर्ब १३ करोड रुपियाँ भुक्तानी गरिएको छ।
आ.व. २०८१|८२ मा मात्रै ३ लाख ६२ हजार दाबीहरू भुक्तानी गरिँदा ५ अर्ब ८७ करोड रकम खर्च भएको छ। हालसम्म ७ लाख ५६ हजार दाबी भुक्तानी भई कुल १५ अर्ब ७५ करोड रुपियाँ भुक्तानी भइसकेको कोषले जनाएको छ।त्यस्तै कोषले योगदानकर्तालाई विभिन्न शीर्षकमा ७ अर्ब ४ करोड रुपियाँको सापटी दिएको छ। विशेष सापटी अन्तर्गत ३४ हजार २० जनालाई ६ अर्ब ९० करोड, घर सापटी अन्तर्गत ६७ जनालाई १३ करोड, शैक्षिक सापटी अन्तर्गत १० जनालाई १ करोड रुपियाँ सापटी दिइएको छ।
आर्थिक वर्ष २०८१|८२ मा कोषले थप २४ वटा स्वास्थ्य संस्थासँग सहकार्य गरी १०७ वटा संस्थामा स्वचालित प्रणालीमार्फत सेवा दिन थालेको छ। वैदेशिक रोजगारी तथा स्वरोजगारमा रहेका व्यक्तिहरूको सुविधाका लागि १२ वटा वित्तीय संस्थासँग सहकार्यको सम्झौता गरिएको छ।
औपचारिक क्षेत्रमा कार्यरत श्रमिकका लागि सामाजिक सुरक्षा योजना कार्यविधि संशोधन गरी स्वास्थ्य सेवा परिवारसम्म विस्तार गरिएको छ। अहिले योगदानकर्ताको परिवारले पनि उपचार सुविधा पाउन थालेका छन्। यसै वर्षबाट अस्पतालमा भर्ना भएर उपचार गराउनु परेमा १ लाखको औषधि सुविधा अतिरिक्त १० लाखसम्मको उपचार खर्चमा ५० प्रतिशत सहभुक्तानी सुविधा समेत कोषले उपलब्ध गराउन थालेको छ।
कोषका अनुसार अबको चार वर्षभित्र श्रमिक र श्रमिकका परिवारको स्वास्थ्य सुरक्षाको जिम्मेवारी सामाजिक सुरक्षा कोषमार्फत राज्यले पूरा गर्ने गरी आवश्यक संरचना र प्रणाली निर्माणको कार्य अगाडि बढाइएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।