
खोटाङ ।
साउन–२३, खोटाङमा विद्यालयबाट घर फर्कँदै गरेकी १४ वर्षीया छात्रालाई आफ्नै साथीहरुबाट सामुहिक बलात्कार भएको छ । ८ कक्षामा अध्ययनरत छात्रालाई गत साउन–१९ गते एकै बिद्यालयमा ९ कक्षामा अध्ययनरत दुई जना छात्र साथीहरुबाट सामुहिक बलात्कार भएको पाइएको हो ।
विद्यालयबाट घर फर्कने क्रममा तिमीसँग कुरा गर्नुछ भन्दै अघिपछि लागेका दुई जना दाजु पर्ने छात्रहरुले जङ्गलको बीचमा बाटो छेकेर रातभरी पालैपालो बलात्कार गरेको पीडित बालिकाको भनाई छ । साढे चार बजे विद्यालयबाट घर फर्कँदै गर्दा एक जना दाजुले तिमीसँग कुरा गर्नुछ भन्दै रोकेको बालिकाले बताएकी छिन् । सँगै पढ्ने ती बालिकाको साथीहरु आ–आफ्नो घर गइसकेका थिए । आफु एक्लै भएकाले छिटो–छिटो हिँडिरहेकी समयमा केही बेरमा दुई जना छात्रहरु भएको पीडित बालिकाले उल्लेख गरेकी छिन् ।
‘बाटो छेकेर एकछिन हामीसँग बस भन्यो ।’ बालिकाले सुनाईन्–‘उनीहरुले अर्को एकजना भाइलाई चटपटे ल्याइमागेका रहेछन् । बसेर चटपटे खायौँ ।’ चटपटे खाइसकेपछि बाटो नजिकै रहेको ओढारमा लगेर आफुलाई बोल्न नदिई पालैपालो बलात्कार गर्न सुरु गरेको पीडितले जनाएकी छिन् । दुई पटकसम्म जबरजस्ती गरेको थाहा भएको र त्यसपछि के–के गरे आफुलाई थाहा नभएको बालिकाले सुनाएकी छिन् । बिहान ब्यूँझिदा एक्लै भएको पीडित बालिकाको भनाई छ ।
विद्यालय गएकी बालिका साथीहरुबाटै बलात्कृत भएको जानकारी पाएपछि आफन्तले साउन–२० गते जिल्ला प्रहरी कार्यालय खोटाङमा गएर पीडक भनिएकाहरु माथि कानूनी कारबाहीको माग गर्दै किटानी जाहेरी दर्ता गराएको पाईएको छ । अध्ययनका लागि विद्यालय गएर घर फर्कँदै गरेकी बालिकालाई दुई जनाले बाटो छेकेर सामुहिक रुपमा बलात्कार गरेको पुष्टि भएपछि दोषीमाथि कानूनी कारबाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी दर्ता गराइएको बलात्कृत बालिकाका आफन्तले बताएका छन् ।
विद्यालय गएकी बहिनी बेलुका अबेरसम्म घर नफर्किएपछि खोजि गर्दा भोलिपल्ट बिहान साँढे ५ बजे घरभन्दा करिब पाँच सय मिटर टाढा पर्ने राम्चेभीर स्थित ओढारमा झोक्राइरहेको अवस्थामा फेला पारिएको पीडित बालिकाको दाजुले बताएका छन् । नाबालक बहिनीमाथि जबरजस्ती बलात्कार गर्नेलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ भनेर प्रहरीमा किटानी जाहेरी दिएको आफन्तले जनाएका छन् ।
विद्यालयले उपलब्ध गराएको जानकारी अनुसार बालिकामाथि सामुहिक बलात्कार गरेको आरोप लागेका राई थरका छात्र १५ वर्षका र विश्वकर्मा थरका अर्का छात्र १६ वर्षका छन् ।
बालिका बलात्कृत भएको उजुरी कार्यालयमा परे लगत्तै सोही राति बालिकाको स्वास्थ्य परीक्षण गराएर साउन–२१ गते दुई जना बिरुद्ध किटानी जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिनुभएको छ । बालिकाको आफन्तले दिएको किटानी जाहेरीको आधारमा सोही विद्यालयका दुई जना छात्रबिरुद्ध मुद्धा दर्ता गरेको प्रहरीले जनाएको छ । आरोपितहरु हाल फरार रहेको जनाईएको छ । मुद्धा दर्ता गरेलगत्तै प्रहरीले साउन–२१ गते जिल्ला अदालत खोटाङबाट पक्राउ पुर्जी लिएर उनीहरुको खोजि कार्य सुरु गरिएको छ ।
आरोपितबिरुद्ध मुद्धा दर्ता र अदालतबाट पक्राउ पुर्जी लिएपछि बलात्कृत बालिकालाई साउन–२२ गते आफन्तको जिम्मा लगाएर घर पठाइएको प्रहरीले जनाएको छ । विद्यालय पोशाकमै बलात्कृत भएकी बालिकाले लगाएको पोशाक समेत प्रमाणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङमा ल्याएर प्रहरीलाई बुझाइएको आफन्तले बताएका छन् ।।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।