
खोटाङ।
झुण्डिएको अवस्थामा मृत फेला परेकी खोटाङकी एक बालिकाको हत्या भएको आशंकामा छानबिनको माग गरिएको छ । झुन्डिएको अवस्थामा मृत फेला परेकी बालिकाको आफन्तले छानबिनको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन् ।
साउन २९ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रामकुमार हिङमाङको घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी १२ वर्षीया तारा अछामीको बलात्कारपछि हत्या गरिएको आशंका गर्दै छानबिन गर्नु पर्ने माग राख्दै आफन्तले प्रहरीमा जाहेरी दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार मृतकका बुवा टेकबहादुर सार्कीले जाहेरी दिएपछि भदौ १ गते पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमपछि अत्यष्टिका लागि बालिकाको शव अर्खौले लगिएको थियो । आफन्तले जाहेरी नदिदा पोष्टमार्टम गर्न ढिलाई भएको डिएसपी विष्टले बताए । विष्टका अनुसार ज्यान सम्बन्धी कसुरमा जाहेरी परेको हो । तर उक्त जाहेरीमा कसैको विरुद्ध नाम उल्लेख गरिएको छैन ।
तारा बाम्राङस्थित सावित्रा माविमा कक्षा ४ मा अध्ययनरत बालिका हुन् । उनी एक महिनादेखि हिङ्माङको घरमा बस्दै आएकी थिइन् । उनकी आमा सरिता सार्की एक भाइ छोरा सहित हिङ्माङको घर मुनि डेरा लिएर बस्दै आएकी थिइन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।