
काठमाडौं।
ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोडान) ले आफ्नो २८औं साधारणसभा शनिबार काठमाडौंको खुसीबुस्थित नेपा वेङक्वेटमा सम्पन्न गरेको छ। साधारणसभामा आगामी कार्ययोजना, संगठन सुदृढीकरण, रक्तदान अभियानलाई अझ प्रभावकारी बनाउनुपर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले ब्लोडानको क्रियाकलापको उच्च प्रशंसा गर्दै रगत जीवनको अमूल्य रहेको र भावी दिनहरूमा अझ बढी मानिसहरूलाई रक्तदानका लागि प्रोत्साहन गरिन् । उपप्रमुख डंगोलले ब्लोडानले यो अभियानलाई निरन्तर अगाडि बढाउँदै समाजलाई ठूलो योगदान पु¥याउँदै आएकोमा धन्यवादसमेत व्यक्त गरिन्।
त्यसैगरी साधारणसभाको अध्यक्षता गरेका ब्लोडान केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठका अनुसार २०४९ सालमा ‘रक्तदान जीवनदान’ भन्ने नारासहित सुरुआत भएको यो संस्थामा अहिले हजारौं स्वयंसेवीदाताहरू संस्थाको अभियानमा संलग्न भएका छन्। उनले भने – ‘अझै प्रभावकारी रूपमा रगत व्यवस्थापन, आपतकालीन सहयोग र अन्तर्राष्ट्रिय सहकार्यलाई मजबुत बनाउँदै लैजाने यस संस्थाको प्रतिबद्धता हो।’
आपतकालीन अवस्थामा बिरामीले सहजै रगत पाउन सकुन् भन्ने उद्देश्यका साथ संस्थाले नियमित रक्तदान कार्यक्रम, सचेतना अभियान, रगत आपूर्ति व्यवस्थापन र दाताको डाटाबेस संकलनजस्ता महत्त्वपूर्ण कार्य गर्दै आएको छ।
ब्लोडान रक्तदान गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूको महासंघ (आईएफबीडीओ) सँग आबद्ध संस्था पनि हो। यसले अन्तर्राष्ट्रिय अनुभव र सहकार्यलाई उपयोग गर्दै नेपालमा सुरक्षित र पर्याप्त रगतको सुनिश्चितताका लागि योगदान पु¥याउँदै आएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।