
काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनको विस्तारमार्फत युवाका लागि रोजगारी सिर्जना गर्न सकिने बताउनुभएको छ ।
काठमाडौंको सामाखुसीमा चेन्ज डिजिटलले सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको उद्घाटन गर्दै चार्जिङमा समय लाग्ने भएकाले वरपर होटल, रेष्टुरेन्ट र कफीसप जस्ता व्यवसायमार्फत रोजगारीको अवसर सिर्जना हुने बताउनुभयो ।
उहाँका अनुसार चार्जिङ स्टेसन लगानीको आकर्षक क्षेत्र बनेको छ, जसले जलविद्युत खपत बढाउन, पेट्रोलियम आयात घटाउन र विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउन मद्दत गर्नेछ । सरकारले २०३० सम्म निजी सवारीको ९० प्रतिशत र सार्वजनिक सवारीको ७० प्रतिशत विद्युतीयमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ।
हाल नेपाल विद्युत प्राधिकरणले ६२ र निजी क्षेत्रले करिब ८०० चार्जिङ स्टेसन सञ्चालनमा ल्याएका छन्। साथै, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पनि देशभर १२४ स्थानमा चार्जिङ स्टेसन निर्माणमा सहयोग गरिरहेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।