०८ कात्तिक , चितवन – नेपालमा क्रियाशील पत्रकारिता गरी हाल अमेरिकामा व्यवसाय गर्दै आउनुभएका दुई अग्रज पत्रकारले नेपाल प्रेस युनियन चितवनको निर्माणाधीन भवनका लागि जनही रु एक लाख सहयोग गर्ने घोषणा गरेका छन् ।
भरतपुर महानगरपालिका–११ मा निर्माणाधीन भवनको मंगलबार निरीक्षणपछि युनियन चितवन शाखाका पूर्वअध्यक्षसमेत रहेका बेदप्रसाद खरेल र वातावरण पत्रकार समाजका संस्थापक अध्यक्ष सानुबाबु सिलवालले प्रारम्भिक चरणमा रु एक/एक लाख सहयोगको घोषणा गरेका हुन् ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्वअध्यक्षसमेत रहेका खरेल युएस नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष एवं नेपाल जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय सदस्यसमेत हुन् ।
चौध वर्षअघि अमेरिका गएका खरेलले नेपालमा पत्रकारिता क्षेत्रको विकास सराहनीय भएको भन्दै आफ्नोतर्फबाट यस क्षेत्रको विकासका लागि सक्दो सहयोग पुर्याउँदै जाने बताए ।
युएस नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष रहेका सिलवालले अमेरिकामा रहेका नेपाली स्वदेशमा नै व्यवसायमा लगानी गर्न इच्छुक रहेको भन्दै लगानीको वातावरण सिर्जना गर्न पत्रकारिता क्षेत्रबाट समेत भूमिका निर्वाह गर्नुपर्ने बताए ।
समाजसेवी मैयादेवी श्रेष्ठले उपलब्ध गराएको जग्गामा युनियनले भवन निर्माण गरिरहेको छ ।
रासस