०८ कात्तिक , चन्द्रौटा – मौरीहरूले विभिन्न प्रजातिका वनस्पतिहरूको फूलमा भएको रसलाई संकलन गरी तयार पार्ने तरल वस्तुलाई मह भनिन्छ । तर कपिलवस्तुमा चिनी पकाएर बनेको अर्धतरल वस्तुलाई मह भन्दै बेच्ने गरेको रहस्य खुलेको छ ।
यस्तो काममा एक जना मात्रै नभई गाउँ नै संलग्न भएको प्रहरीले फेला पारेको छ । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाबाट प्रहरीले चिनी पकाएर बनाइएको १५ क्विन्टल चिनीमह बरामद गरेपछि स्थानीय चकित भएका छन् ।
चन्द्रौटा बजारदेखि पश्चिम क्षेत्रमा रहेको एक बस्तीमा चिनी, पानी र फिटकिरी पकाएर बाक्लो बनाइएको वस्तुलाई मह भनेर बेच्ने गरेको पाइएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाले विशेष सुराकीको आधारमा खोजतलास गर्दा सो बस्तीमा यस्तो काम गरेको भेटिएको हो ।
जग्गा भाडामा लिई साना झुप्रा बनाई बसेको सो बस्तीमा प्रायः सबै घरबाट यस्तो खालको ‘मह’ बरामद गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र भट्टराईले बताए । चिनी पकाएर मह जस्तै बाक्लो तरल बनाई अर्घाखाँची, रोल्पा, प्यूठान, दाङ लैजाने र मौरीको मह भनी झुक्काएर बेच्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।
२० वटा झुप्रामा बस्ने गरेका उनीहरूले लामो समयदेखि यसरी ‘मह’ को उत्पादन गर्दै आएको र उपभोक्तालाई झुक्याउने गरेको प्रहरीको भनाइ छ । त्यस्तै प्रहरीले चिनीमह बनाउन प्रयोग गरिने र संकलन गर्ने प्लास्टिकका ड्रम समेत बरामद गरेको छ । सो बस्तीबाट हाज्रा खातुन, गुडिया खातुनलगायतलाई नियन्त्रणमा लिई छानबिन सुरु गरिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए ।
कसरी चिन्ने सक्कली मह ?
मह किन्दै हुनुहुन्छ ? मौरीको चाकामा चिनी मिसाइएको वा चिनीको घोलमा दुईचार वटा मौरी मारेर हालेको या बट्टाभित्रै मिसावट गरिएको मह पनि हुनसक्छ । देख्दा र चाख्दा सक्कली देखिने तर पछि नक्कली रहेछ भन्ने थाहा पाएर तपाई वाक्क हुनुभएको छ भने पक्कै पनि तपाईलाई चिन्ता लागिरहेको हुनुपर्छ, मह शुद्ध छ कि छैन भनेर कसरी थाहा पाउने ? यो त्यति धेरै सजिलो त छैन । तर पनि मह शुद्ध छ कि छैन भनेर थाहा पाउने विभिन्न तरिका छन् ।
शुद्ध महको थोपा पानीमा चुहाउँदा रेसा नबनी थपक्कै पिँधमा पुग्छ । त्यसैगरी सिक्कामा मह दलेर पछाडिबाट टुकीमा सेकाउँदा चिनी मिसाइएको मह बल्छ, तर शुद्ध महमा आगो लाग्दैन । अनुभवी मान्छेले मह शुद्ध छ कि छैन भन्ने चाखेर पनि सहजै थाहा पाउन सक्छन् । महको पूर्ण शुद्धता थाहा पाउने वैज्ञानिक तरिका चाहिँ ल्याबमा गरिने परीक्षण नै हो ।
यो खबर आजको दैनिक पत्रमा छ ।