०८ कात्तिक , कपिलवस्तु – बालविवाह र महिला हिंसा अन्त्यका लागि जनचेतना फैलाउन कपिलवस्तुमा किशोरीहरूबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता संचालन गरिएको छ ।
‘बलिङ गरौँ, ब्याटिङ गराँै, बालविवाह, महिला हिंसा अन्त्य गरौ’ भन्ने नाराका साथ युनएनएफीपएको सहयोग तथा जिल्ला क्रिकेट संघ, नेपाल परिवार नियोजन संघ र जिल्ला समन्वय समितिको सहकार्यमा सो क्रिकेट प्रतियोगिता गरिएको हो ।
प्रतियोगिताको उद्घाटन् जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले ब्याटिङ र राष्ट्रिय खेलाडी सुमित्रा जिसीले बलिङ गरी गरिएको थियो । सो अवसरमा प्रमुख खनालले क्रिकेटको माध्यमले बढी बालविवाह र महिला हिंसा हुने जिल्लामा जनचेतना फैलाउन मद्दत मिल्ने विश्वास व्यक्त गरे । सो अवसरमा प्रमुख जिल्ला अधिकारी मदन भुजेलले प्रतियोगिताले बालविवाह र महिला हिंसा घटाउन प्रभावकारी भूमिका खेल्ने बताए । युएनएफपिएका क्षेत्रीय प्रमुख राम थापाले किशोरीहरूलाई प्रोत्साहन गरी बालविवाह र महिला हिंसाविरुद्ध जनाचेतना फैलाउन खेलले ठोस भूमिका खेल्ने बताए ।
क्रिकेटको माध्यमबाट बालविवाह र महिला हिंसा न्यूनीकरणको सन्देशसििहत जिल्लामा पहिलो पटक किशोरीहरू बीच मैत्रीपूर्ण क्रिकेट गरिएको क्रिकेट संघका जिल्ला अध्यक्ष प्रकाश गैरेले बताए । प्रतियोगिताअन्तर्गत मंगलबार भएको पहिलो खेल तिलौराकोट किशोरी समूहले जितेको छ ।
बुद्ध किशोरी समुहलाई १० रनले हराउदै तिलौराकोट समूहले खेल जित्यो । पहिलो ब्याटिङ गरेको तिलौराकोटले निर्धारित १५ ओभरमा ५ बिकेट गुमाई १ सय २१ रन जोड्यो । प्रतिउत्तरमा ब्याटिङमा उत्रेको बुद्ध समूह निर्धारित १४ ओभरमा ४ विकेट गुमाउँदै १ सय ११ रन मात्र बनाउन सक्यो ।
तिलौराकोटक समूहबाट नूतन ढकालले ५५ र सुशीला श्रेष्ठले १८ रन जोडे । तिलौराकोटकी गंगा थापाले ४ विकेट, बुद्ध समूहकी सुन्दरी थारुले ३६ र गंगा थापाले १९ रन बनाए । पूर्व संरचना अनुसारका पूर्व १० गाविसका ७४ जना किशोरीहरू ४ समूहमा बाँडिएर खेल गरिएको हो । खेल असोज ९ गतेसम्म चल्ने छ । कपिलवस्तु बढी बालविवाह हुने तेस्रो जिल्ला हो । जिल्लामा ६२ प्रतिशत बालविवाह हुने गरेको तथ्यांकले देखाएको छ ।
यो खबर आजको दैनिक पत्रमा छ ।