०८ कात्तिक , बुटवल – क्षमताभन्दा बढी (ओभरलोड) बोकेर नेपाल भित्रिने भारतीय ट्रकहरूलाई प्रवेशमा रोक लगाउन व्यवसायीहरूले माग गरेका छन् । ओभरलोडका गाडीहरूलाई भन्सारमै पोल्टी गर्ने व्यवस्था भए पनि भन्सार नाकाबाट निर्वाध रूपमा नेपाल प्रवेशको अनुमति दिँदा नेपाली ट्रक व्यवसायी र सडक संरचना समेत जोखिममा परेका छन् । नेपाली ट्रकहरूले सामान ढुवानीका लागि महिनौँसम्म कुर्नुपर्ने अवस्था रहँदा भारतीय ओभरलोडका गाडीहरूले आफूहरूलाई समस्यामा पारेको व्यवसायीहरूको भनाइ छ ।
ओभरलोडका गाडीहरूको चेकजाँच गरी प्रवेशमा रोक लगाउने प्रहरी त्यसमा कुनै चासो देखाएको पाइँदैन । रूपन्देहीको भैरहवा (बेलहिया) नाका हुँदै दैनिक मध्ये १ सय ५० भन्दा बढी ट्रकहरूले क्षमताभन्दा दोब्बरसम्म सामान बोकेर नेपाल भित्रिने गर्ने व्यवसायीको ट्रक व्यवसायीहरू बताउँछन् । पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवलका अध्यक्ष टीकाराम गौतमले राज्यको गैर जिम्मेवारीले नेपाली ट्रक व्यवसायीहरू संकटमा परेको बताए । ‘हाम्रा ट्रकहरू काम नपाएर थन्किनुपर्ने अवस्था छ’ गौतमले भने,‘तर,भारतीय १६ देखि १८ चक्के गाडीले क्षमताभन्दा दोब्बर सामान लिएर नेपालका विभिन्न स्थानमा जाँदा हामीहरू संकटमा परेका छौं । नेपाली ट्रकले चार टिप गर्ने सामान भारतीयले एकै पटकमा लैजाँदा नेपाली ट्रक सञ्चालकहरू संकटमा परेका छन । यसको नियन्तण तत्काल हुनुपर्छ ।’
उनले थपे,‘सिसा औद्योगिक कच्चा पद्धार्थ र फलफूलका गाडीहरूलाई नेपाल प्रवेश गर्न दिन तयार छौं । अन्य सामान बोकेका ट्रकहरू भन्सार गरी त्यहीबाट भारत फर्काउने त्यहाँबाट नेपाली ट्रकले सामान ढुवानी गर्न हामी सक्षम छौं । भारतीय गाडी चाहिँदैनन् ।’ नेपालमा ६० हजार मालबहाक ट्रकहरू रहेका छन् ।
नेपालको यातायात सम्बन्धी कानुन अनुसार ६ चक्के गाडीले ९ टन, १० चक्के गाडीले १६.५ टन, १२ चक्के गाडीले २१ टन, १४ चक्के गाडीले २५ टन भन्दा बढी सामान बोक्न पाउँदैनन् । तर, भारतीय १४ चक्के ट्रकले ३५ टनसम्म सामान लिएर नेपाल भित्रिने गर्छन् । ठूला सवारीसाधनहरु ओभरलोडका कारण दुर्घटना पर्ने गरेका छन् भने सडक भत्किएका छन् र पुल पुलेसा जोखिममा परेका छन् ।
समितिका महासचिव हरिप्रसाद कँडेलले भारतीय ओभरलोडका गाडीहरू प्रवेशमा रोक नलगाएर आफूहरू आन्दोलनमा उत्रिने बताए । उनले भने,‘ओभरलोडका गाडीले सडक, पुलपुलेसाहरु भत्किने समस्या बढ्दै गएका छन् भने नेपाली व्यवसायीहरू विस्थापित हुनुपर्ने अवस्थामा पुगेका छन् । ओभरलोडको दोहोर मापदण्ड हटाउँदै नियन्त्रण नगरिए आफूहरू कडा संघर्षमा उत्रिन बाध्य हुनेछौँ ।’ पश्चिमाञ्चल यातायात व्यवसायी समितिकले ओभरलोड समान बोकेको भन्दै नवलपरासीको तिलकपुरमा मंगलबार ९ वटा ट्रकलाई नियन्त्रणमा लिएका थिए । तिलकपुरमा राखेको धर्मकाँटामा तौलगर्दा ओभरलोड बोकेको पत्ता लागेपछि भारतीय गाडीहरु रोकिएको हो ।
पश्चिमाञ्चल यातायात तथा लुम्बिनी ट्रक यातायात व्यवसायी समितिले मंगलबार जिल्ला प्रशासन कार्यालय रूपन्देही र भैरहवा भन्सार कार्यालयमा ओभरलोड गाडी रोक्न माग गर्दै डेलिकेसन गएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले ओभरलोडका गाडीहरूलाई कानुनको परिधिभित्र रहेर आवश्वयक कारबाही अगाडि बढाउने बताए । भन्सार कार्यालयका प्रमुख भुपालराज शाक्यले भन्सार कार्यालयले सबै ओभरलोडका गाडीहरु हेर्न नसक्ने हुँदा रोक्न सम्भव नहुने बताए ।
यो खबर आजको मेचीकाली सन्देशमा छ ।