
–कर्मचारीको मिश्रित प्रतिक्रिया
काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले २ हप्तापछि महानगरको जिम्मेवारी छोड्ने हल्ला चलेपछि आइतरबार दिनभर महानगरपालिका भित्र र बाहिर चर्चा भएको छ । शनिवार दिनभर र रातभर वार्ता र संवादपछि रास्वपाका सभापति रवि लामिछाने र मेयर साहबीच ७ बँुदे सम्झौता भएको थियो ।
सम्झौता भएको केही घण्टामै राजनीतिमा होमिएका मेयर साहले मेयरको पद त्याग्ने हल्ला चल्यो । मेयर साहका स्वकीय सचिव भूपदेव साहले मेयर साहले केही दिन काम गरेपछि अबको दुई हप्तामा पदत्याग गर्ने बताउनुभयो । मेयर बालेनको कार्यकाल अझै १६ महिना बाँकी छ । चुनाव जितेर प्रधानमन्त्री हुने सपना देख्नुभएका मेयरले अबको राजनीति कसरी अघि बढाउनुहुनेछ भन्ने विषयको चासो बढेको छ ।
सम्झौतालगत्तै मेयर बालेनले आफ्नो रणनीति तयार गर्न सुरु गर्नुभएको छ । आइतबार बिहान करिब ११ बजेदेखि मुख्यालयमा प्रवेश गरी दिनभर सचिवालयका सदस्यसँग अबको रणनीतिबारे छलफल गर्नुभएलगतै कामपाको वागडोर छाड्ने हल्लाले काठमाडौं महानगर तातेको छ ।
सबै विभाग, महाशाखा र शाखामा मेयर साहले पद त्याग गर्ने चर्चा चलेको थियो । केही कर्मचारीले मेयर बालेनले २ हप्तापछि पद छाड्ने हल्लाले हामीलाई दुःख लागेको बताएका थिए भने केहीले सचिवालयको दबाबबाट छुटकारा पाउने धारणा राखेका थिए । केही कर्मचारीको तर्क भने फरक छ– ‘मेयर साब त ठीकै हुनुहुन्थ्यो अब सचिवालयको प्रेसर कम हुने भएको छ । मेयर साबको सोच अत्यन्तै राम्रो थियो ।
उहाँको ‘भिजन’अनुसार व्यवस्थित रूपमा काम हुन पाएको भए कैयौं गुणा राम्रो काम हुने थियो । तर, अनावश्यक दबाब र विभागीय प्रमुखको प्रभावको कारण केही समय अस्तव्यस्त भएको थियो ।’ बालेनले मेयरको वागडोर सम्हालेपछि दर्जनांै सुधार भएका छन् । सफा काठमाडौंको परिकल्पना साकार भएको छ । बाटो फराकिलो भएको छ । जताततै हरियाली देखिएको छ । फुटपाथमा व्यापक सुधार आएको छ ।
हरेक बाटोमा स्ट्रिट लाइट जडान भएको छ । दर्जन बढी ठूला सडकमा हाइमास्ड लाइट जडान भएको छ । सार्वजनिक जग्गा संरक्षण भएका छन् । सुकुम्बासी बस्तीबाहेकका खोला किनाराको अतिक्रमित बस्ती खाली भएका छन् । अझै कैयौं सुधार हुने थिए ।
त्यसअघि महानगरले गर्नुपर्ने दर्जनौं काम बाँकी छ । केही महत्वपूर्ण कामको किनारा लगाउन मेयर साहले केही दिन महानगरमै बस्न लाग्नुभएको हो । आचारसंहिता लागेपछि टेन्डरको सूचना निकाल्न पाइँदैन । कर्मचारी सरुवा बढुवा गर्न पाइँदैन । ठेक्का लागेका कामबाहेक सबै काम गर्न बर्जित हुनेछ । त्यसअघि नै केही महत्वपूर्ण काम सुरु गर्न करिब दुई हप्ता काम गर्न लाग्नुभएको हो’ –स्रोतले नेपाल समाचारपत्रसँग भन्यो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।