
काठमाडौं ।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई औपचारिक मान्यता दिएपछि पार्टीभित्रको विवाद बढेको छ। आयोगको निर्णयपछि शेरबहादुर देउवा पक्षले आज बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थित हुन बोलाइएको छ। तर, विशेष महाधिवेशनको वैधानिकता दिने आयोगको निर्णयपछि शेखर कोइराला निकट केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले बैठक बहिष्कार गर्ने निर्णय गरेका छन्।
कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टी एकीकृत बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै संगठन सुदृढीकरणमा ध्यान दिनुपर्ने बताए।
निर्वाचन आयोगको निर्णयपछि कांग्रेसभित्रको आन्तरिक राजनीतिक अवस्था संवेदनशील बनेको छ। देउवा, शेखर र गगन थापा पक्षबीचको शक्ति सन्तुलन र आगामी राजनीतिक कदमबारे चासो बढेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।