काठमाडौं ।
काठमाडौं–तराई–मधेश द्रुतमार्ग आयोजना सुरु भएको आठ वर्ष बितिसक्दा पनि समग्र भौतिक प्रगति ४५.१६ प्रतिशतमा सीमित भएको छ। २०७४ सालमा नेपाली सेनालाई निर्माण व्यवस्थापनको जिम्मा दिइए पनि ठेक्का प्रक्रिया, डीपीआर संशोधन, जटिल भूगोल र खोकना खण्डको विवादका कारण आयोजनाले अपेक्षित गति लिन सकेको छैन।

हाल आयोजनामा अग्ला पुल र सुरुङ निर्माणको काम तीव्र रूपमा भइरहेको सेनाको दाबी छ। धेद्रे, लेनडाँडा र महादेवटारमा सुरुङ निर्माण अघि बढिरहेको छ भने ८२ मिटर अग्ला पुलहरू निर्माण भइसकेका छन्। तर खोकना–डुकुछाप खण्डमा जग्गा अधिग्रहण, सडक रेखांकन र सांस्कृतिक संवेदनशीलताका विषय टुंगिन नसक्दा काम सुरु हुन सकेको छैन।

सरकारले २०८३ चैतभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ। खोकना खण्डमा स्थानीयको सहमतिअनुसार काम अघि बढाउने वा विकल्पमा रेखांकन परिवर्तन गर्ने तयारी रहेको आयोजना कार्यालयले जनाएको छ।

यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।