१२ कात्तिक , पोखरा – क्षेत्रीय निर्वाचन कार्यालय, पोखराले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारीबारे आज कास्कीका क्रियाशील राजनीतिक दलसँग निर्वाचन आचारसंहिता सम्बन्धमा छलफल गरेको छ ।
कार्यक्रममा कास्कीका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले निर्वाचनलाई सौहार्द्र रुपमा सम्पन्न गर्नु प्रत्येक राजनीतिक दल, नागरिक समाज तथा सञ्चारकर्मीको दायित्व भएकाले आचारसंहिताको सबैले पालना गर्नुपर्ने बताउनुभयो ।
सम्बद्ध सबै पक्ष र निकायबाट निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गरिने उल्लेख गर्नुभयो । प्रमुज जिल्ला अधिकारी तारानाथ अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अशोक सिंह, निर्वाचन अधिकृत गंगाप्रसाद पौडेल, क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगालाल सुवेदीलगायतले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई सबैले इमान्दारिताका साथ पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
रासस