१३ कात्तिक , कैलाली – सुदूरपश्चिमका ठूला नेताहरू समानुपातिकमा सिट सुरक्षित पार्न थालेका छन् । प्रत्यक्षमा चुनाव लड्दा जित हारको बराबर जस्तै सम्भावना रहे पनि पार्टीले डेढ प्रतिशत मत खसेको हिसाबले ल्याएमा समानुपातिक सांसद बन्न पाइने भएकाले केही ठूला दलका नेताहरूले विकल्पको बाटोको खोजी गरेका हुन् ।
मङ्सिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झैँ दोस्रो चरणको निर्वाचनमा पनि ठूला नेताहरू समानुपातिकबाट सांसद बन्ने दाउमा लागेका छन् तर आफू हारिने डरले भन्दा पनि युवा नेताहरूलाई अवसर दिनका लागि पार्टीको निर्णयअनुसार अगाडि बढेको काँग्रेस पूर्व पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले बताउनुभयो । हारेका नेताहरू फेरि पनि हारिने डरले प्रत्यक्षबाट पछाडि हट्दा जितेकाहरू पनि जित्नेमा ढुक्क नभएपछि समानुपातिकको कोटाबाट सांसद बन्ने दाउतिर लागेका छन् । प्रदेश नम्बर ७ का केही जिल्लाहरूमा बाम गठबन्धन बलियो भएका कारण काँग्रेसका नेताहरू प्रत्यक्षमा चुनावमा होमिन डराइरहेका छन् ।
कैलाली बहुमुखी क्याम्पसका राजनीति शास्त्रका सहप्राध्यापक रामचन्द्र जोशीले जितेर गएपछि जनमुखी काम गर्न नसकेकाले जनताले पराजित गर्ने डरले ठूला नेताहरू समानुपातिकतिर हानिएको तर्क गर्नुहुन्छ । पहिलो चरणको निर्वाचनका लागि चार जिल्लामा चुनावी प्रसारप्रसार भइरहेको छ भने बाँकी रहेका प्रदेश नम्बर ७ का ५ जिल्लामा उम्मेदवारको टुङ्गो लगाएर राजनीतिक दलहरू मनोनयन दर्ताको तयारीमा जुटेका छन् ।
यो खबर आजको गोरखापत्रमा छ ।