१३ कात्तिक , झापा – झापा अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरण र शुक्रवार बिर्तामोडमा भएको प्रहरी दमनको घटनाका विषयमा आइतवारदेखि उच्चस्तरीय टोलीले छानविन सुरु गरेको छ ।
घटनापछि गृह मन्त्रालयले सहसचिव वीरेन्द्रकुमार यादवको संयोजकत्वमा गठन गरेको चार सदस्यीय उच्चस्तरीय छानविन समितिले काम सुरु गरेको हो । समितिका संयोजक यादवले घटनाको समग्र विषयमा अनुसन्धान थालिएको बताए ।
‘प्रहरीबाट गोली चल्या छ, मान्छे मर्या छ, हामी सत्यतथ्य छानविनका लागि आएका छौँ,’ उनले भने, ‘हामीसँग अब ५ दिन समय छ, हामी अनुसन्धानको क्रममा छौँ ।’
शिवाकोटीको मृत्यु प्रकरणलाई लिएर प्रहरीले गहिरो अनुसन्धान नगरेको भन्दै पीडित र गाउँले आन्दोलित भएपछि शुक्रवार बिर्तामोडमा शान्तिपूर्ण जुलुस निकालिएको थियो । जुलुसमा प्रहरी हस्तक्षेप भएपछि आन्दोलनकारी आगजनी र तोडफोडमा उत्रिएका थिए ।
शुक्रवार साढे एक बजेदेखि बिर्तामोडमा अनिश्चितकालिन कफ्र्यु लगाइएको थियो । कर्फ्युकाबीच भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा झापा अर्जुनधाराका नरेश थापाले ज्यान गुमाएका थिए । प्रहरीले चलाएको गोली लागेर अरु छ जना घाइते भएका छन् ।
नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रमेशकुमार भट्टराई, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव महानिरीक्षक चिरञ्जीवि अधिकारी र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हरिहर पौडेल सम्मिलित उच्चस्तरीय टोलीले आइतबार पीडित शिवाकोटी र थापा परिवारसँग छलफल गरेको छ ।
समितिले बिर्तामोड घटनाको बारेमा अनुसन्धान गरी सात दिनभित्र राय सुझावसहितको प्रतिवेदन गृह मन्त्रालयमा पेश गर्ने जनाइएको छ ।
स्थानीय प्रशासनले बिर्तामोडमा शुक्रवार मध्यान्हदेखि लगाएको अनिश्चितकालिन कर्फ्यु आइतबार राति ९ बजेदेखि १२ घण्टाका लागि हटेको छ । सोमबार बिहान ९ बजेसम्मका लागि कफ्र्यु हटाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।
९ बजेपछि फेरि कर्फ्यु लगाइने उनले बताए । स्थानीय प्रशासन, राजनीतिक दल र पीडित पक्षबीच शनिवार आठ बूँदे सहमति भए पनि बिर्तामोडमा लगाइएको कर्फ्यु अझै फिर्ता भएको थिएन ।
अर्जुनधाराका ११ वर्षीय बालक शिवाकोटीको मृत्यु प्रकरणलाई लिएर प्रहरीले गहिरो अनुसन्धान नगरेको भन्दै पीडित परिवार र गाउँले आन्दोलित भएपछि शुक्रवार डेढ बजेदेखि बिर्तामोडमा स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको थियो ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।