१९ कात्तिक , काठमाडौँ – नेपाली काँग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा अल्पकालीन राजनीतिक लाभका लागि राज्यको ढुकुटी रित्याउने गरी जथाभावी वितरणमुखी कार्यक्रम ल्याउन नहुनेमा जोड दिएको छ । उसले राज्यको राजस्व, नागरिकको योगदान, संस्थागत कोषहरु र नवीन वित्तीय उपकरणले धान्न सम्भव भएसम्म राज्य जनताप्रति जिम्मेवार र सहयोगी बन्नुपर्नेमा जोड दिएको छ ।
काँग्रेसले गरिबका लागि १०० दिनको रोजगारी, एकल महिला, अपांग र सीमान्तकृत समुदायलगायतका लागि निःर्शत नगद हस्तान्तरण, जेष्ठ नागरिक भक्ता र सेवा आश्रम सञ्चालन गर्ने विषय समावेश गरेको छ । दलित र कर्णालीमा ६० वर्ष उमेर पुगेका, सबै महिलालाई ६५ वर्षपछि र बाँकी पुरुषलाई ७० वर्षपछि समाजिक सुरक्षा भक्ता दिने जनाएको छ । तर कति रकम त्यस्तो सामाजिक सुरक्षा भक्तामा खर्च गर्ने भन्नेमा काँग्रेसको घोषणापत्रमा प्रष्ट व्यवस्था गरिएको छैन ।
तर काँग्रेसले समाजिक सुरक्षा कोषमार्फत दुर्घटना बीमा, महिला श्रमिकलाई सुरक्षित मातृत्व योजना, बेरोजगारी सुरक्षा योजना र वैदेशिक रोजगारमा संलग्नको सामाजिक सुरक्षा कोषमा योगदान गरे बमोजिम पेन्सन, विप्रेषण हाइडो र विप्रेषण आवासलाई भने जोड दिइएको घोषणापत्र निर्माण कार्यदलका संयोजक एवम् पूर्व अर्थमन्त्री महेश आचार्यले जानकारी दिनुभयो ।