२० कात्तिक , काठमाडौँ – संसद् सचिवालयका कर्मचारी सूचना दिनलाई पैसो माग गर्छन । १० हजार रुपैयाँ दिए मात्र सूचना उपलब्ध गराइदिने बताएका छन् । सूचनाको हकसम्बन्धी नियमावलीमा १० पृष्ठसम्मको सूचना निःशुल्क पाउने व्यवस्था छ ।
तर, सूचना मागेको तीन महिनापछि संसद् सचिवालयका सूचना अधिकारी वंशिराज पौडेलले कर्मचारीले असहयोग गरेको कारण देखाउँदै दुई पृष्ठको सूचनाका लागि १० हजार रुपैयाँ माग गरेका हुन् । सूचना अधिकारी पौडेलले सांसद सुविधा शाखा, कार्यव्यवस्था शाखालगायतबाट सूचना छनोट नगरी पूरै फाइल अघि सार्दै रकम माग गरेका हुन् ।
संसद् सचिवालयका सहसचिव कृष्णहरि खड्काले आफूहरूलाई अप्ठ्यारो पर्ने सूचना नमाग्न आग्रह गरे । संसद् बैठकमा को सांसदको उपस्थिति कति हुने गरेको, कसले कति बोल्ने गरेको, कम बोल्ने र बोल्दै नबोल्ने सांसद तथा कुन सांसदले सम्पत्ति विवरण नबुझाएलगायतका सूचना दिँदा नेताहरूबाटै आफूहरूमाथि धम्की आउने सहसचिव खड्काले बताए ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।