२० कात्तिक , काठमाडौँ – उच्चपदस्थ व्यक्तिको अकुत सम्पत्ति छानबिनमा पछिल्ला वर्षमा सुस्ताएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनः सक्रियता बढाएको छ । अकुत सम्पत्तिसँगै सुस्ताएको भ्रष्टाचार मुद्दाको अनुसन्धानलाई पनि अख्तियारले तीव्रता दिएको छ ।
अख्तियारले आइतबार नेपाल प्रहरीका पूर्वमहानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग बयानसमेत लिएको छ । यस्तै काठमाडौँ महानगरपालिकाका नगर निरीक्षक धनपति सापकोटा र रघुनाथ पाण्डेसँग पनि बयान लिएको छ । अकुत सम्पत्तिको आशङ्कामा यसअघि सम्पत्ति विवरण भराउने काम गरेको अख्तियारले आइतबार बयानका लागि बोलाएको हो । “अकुत सम्पत्तिको आशङ्कामा प्रहरीका पूर्वप्रमुख र केही बहालवाला सचिवसँग बयान लिने क्रम सुरु भएको छ । सूचीमा रहेका अन्यको बयान पनि केही दिनमै हुनेछ”, अख्तियार स्रोतले भन्यो ।
अख्तियारले आइतबार अकुत सम्पत्तिको आशङ्कामा प्रहरीका पूर्वप्रमुख अर्याल, नगर निरीक्षकद्वय सापकोटा र पाण्डे तथा बहालवाला सचिव गजेन्द्र ठाकुरसँग बयान लिएको हो । ठाकुर शान्ति तथा पुनःनिर्माण मन्त्रालयका सचिव हुनुहुन्छ । उहाँहरूसँग अवैध रूपमा आर्जन भएको सम्पत्ति छ भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान सुरु गरी बयान लिएको हो । यस्तै अख्तियारले नेपाल विद्युत् प्राधिकरणको सबैभन्दा ठूलो घोटालाका रूपमा चिनिएको ट्रान्सफर्मर खरिद प्रकरणमा पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, पूर्वसचिव विश्वप्रकाश पण्डित र बहालवाला सचिव अर्जुनकुमार कार्कीसँग पनि बयान लिएको छ ।
अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्ने गरी कामकारबाही गरेको भन्दै अख्तियारले क्षेत्री र पण्डितसँग बयान लिएको हो। अख्तियारको अनुसन्धानले गुणस्तरहीन ट्रान्सफर्मर खरिद भएको निष्कर्ष निकाल्दै प्राधिकरणका उच्चपदस्थ कर्मचारीमाथि यसअघि नै मुद्दा दर्ता भइसकेको छ । २०७० मा अख्तियारले ट्रान्सफर्मर निर्यात गर्ने चिनियाँ हुवाई सनलाइट र थाइल्यान्डको सहवन्त इलेक्ट्रोनिक्सका सञ्चालक र प्राधिकरणका कर्मचारीउपर मुद्दा दर्ता गरेको थियो । अख्तियारले तत्कालीन महाप्रबन्धक, कार्यकारी निर्देशकसमेत गरी २२ जना कर्मचारीमाथि मुद्दा चलाएको थियो ।
अदालतमा विचाराधीन मुद्दामा आर्विट्रेसनमा जाने निर्णय गरी मध्यस्थता गर्न सहयोग गरेको आरोपमा क्षेत्री, पण्डितसँग बयान लिइएको हो । उक्त निर्णय गर्ने बैठकमा तत्कालीन ऊर्जा सचिवको हैसियतमा पण्डित र क्षेत्रीले अध्यक्षता गर्नुभएको थियो । आर्विट्रेसनमा जाने निर्णयबाट थप दुई करोडभन्दा बढी क्षति पुगेको अख्तियारको प्रारम्भिक दाबी छ । मुख्य सचिवबाट क्षेत्रीले कात्तिक ७ गतेबाट अवकाश पाउनुभएको थियो । कार्की भने बहालवाला सचिव हुनुहुन्छ । उहाँ हाल नेपाल ट्रस्टको कार्यालयमा हुनुहुन्छ ।
यो खबर आजको गोरखापत्रमा छ ।