२६ कात्तिक , रत्ननगर, चितवन – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियानमा आफूहरु जुटेको बताउनुभएको छ ।
दिनभर चुनावी घरदैलो कार्यक्रममा सहभागी अध्यक्ष दाहालले पश्चिम चितवनको पटिहानीस्थित पदमपोखरीमा आज साँझ भएको चुनावीसभाका क्रममा अभियान अहिले निर्वाचनका कारण मात्रै रोकिएको बताउनुभयो ।
निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले निर्वाचनलगत्तै कम्युनिष्ट गठबन्धन एकतामा परिणत हुने जिकिर गर्दै अन्य कम्युनिष्ट पार्टीलाई समेत एक बनाएर एउटा केन्द्र निर्माणको प्रयास जारी रहेको बताउनुभयो ।
निर्वाचनपछि पाँच वर्षका लागि स्थिर सरकार निर्माण हुने विश्वास व्यक्त गर्दै नेता दाहालले सबै कम्युनिष्ट उम्मेदवारलाई मतदान गरेर जिताउन आग्रह गर्नुभयो । चितवनको विकास गरी नमुना सहर बनाउन आफू यहाँ आएको उल्लेख गर्दैे पूर्वप्रधानमन्त्री दाहालले यहाँको राप्ती, नारायणीमा तटबन्धन गरी चक्रपथ निर्माण गर्ने आश्वासनसमेत दिनुभयो ।
उहाँले भरतपुर महानगरपालिका वडा नं १४, १५, २१ र २२ वडाका फूलबारी, शिवनगर, पटिहानी, पार्वतीपुरलगायत क्षेत्रमा घरदैलो कार्यक्रम गर्नुभएको थियो । घरदैलोका क्रममा स्थानीयवासीले बाटोघाटो, खानेपानी र स्कूल निर्माणमा ध्यान दिन आग्रह गरेका थिए । उहाँले आजै वाम गठबन्धन निकट कानुन व्यवसायीसँग भएको अन्तरक्रियामा सहभागी हुँदै यो ऐतिहासिक अवसर गुमाउन नहुनेमा जोड दिनुभएको थियो ।
रासस