१८ मंसिर , जनकपुरधाम – राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल सदस्य एवं धनुषा जिल्ला क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र महतोले दुई नम्बर प्रदेशमा मधेशवादी गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् ।
जनकपुरधाम आज आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनलाई मधेश आन्दोलनका उपलब्धिलाई निर्णायकसिद्ध गर्ने अवसरका रूपमा लिनुपर्ने खाँचो औँल्याए।
महतोले जनकपुरधामलाई मधेशको राजधानी बनाउने सन्दर्भमा कसैको पनि विमति नरहेको स्पष्ट गर्दे जनकपुरधामलाई मधेशको राजधानी बन्नबाट कुनै पनि शक्तिले रोक्न नसक्ने दृढता व्यक्त गरे ।
जनकपुरधामलाई अपराधमुक्त बनाउनु जरुरी छ भन्दै उनले जनकपुर क्षेत्रमा विधिको शासनको प्रत्याभूति गराउन सम्बन्धित पक्ष गम्भीर हुनु आवश्यक रहेको धारणा राखे ।
मतदानपछि जनताको सुरक्षा र रक्षाका लागि सम्बन्धित निकायको सजगतामा जोड दिँदै उनले ‘ मतदातालाई डर र धम्की आइरहेकाले निर्भय र निर्धक्क भई मतदान गर्न वातावरण निर्माणको आवश्यकता रहेको बताए ।
रासस