१९ मंसिर , महोत्तरी – जिल्लामा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी पूरा भएको छ । २१ मंसिरको निर्वाचनका लागि सुरक्षा दस्तासहित कर्मचारी मतदानस्थलमा पुग्न थालेका छन् ।
निर्वाचन सम्पन्न गराउन आवश्यक सामग्रीसहित कर्मचारीहरू मतदानस्थल गएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
केन्द्रमा मतदाताको संख्याबमोजिम कर्मचारी खटाइएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृतका साथै मतदान केन्द्रमा सहायक कर्मचारीको संख्या ३ वा ४ हुने कार्यालयले जनाएको छ ।
जिल्लाका ४ सय २६ केन्द्रमा तीन हजारभन्दा बढी कर्मचारी खटाइएको छ । चार प्रतिनिधिसभा र ८ प्रदेश सभा रहेको जिल्लामा पुरुष मतदाताको संख्या एक लाख ६९ हजार ८ सय ९७ र महिला मतदाताको संख्या एक लाख ४७ हजार ७ सय ९३ रहेको छ । तेस्रोलिंगी एकजना छन् ।
सीमानाका बन्द
निर्वाचन सुरक्षाका लागि नेपाल–भारत सीमानाका बन्द गरिएको छ । सोमबार मध्यरातबाट ७२ घन्टाका लागि सीमा बन्द भएको प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए । सीमा बन्द भएको अवस्थामा आकस्मिकबाहेक कोही पनि आवतजावत गर्न पाउँदैनन् ।
सुरक्षा व्यवस्था कडा
निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । स्थानीय सुरक्षा दस्ता तथा सीमापारि भारतीय सुरक्षा दस्तासमेत परिचालित भएको श्रेष्ठले बताए ।
जिल्लाभित्र पनि सवारी जाँच तथा अन्य सुरक्षा जाँचलाई व्यापक बनाइएको उनले जनाए । उनले महोत्तरीका सबै मतदानस्थललाई नै अति संवेदनशीलको सूचीमा राखी सोहीअनुरूप सुरक्षा व्यवस्था मिलाइएको बताए ।
उनले दैनिक सुरक्षा समितिको बैठक बसिरहेको र आकस्मिक सुरक्षा व्यवस्था मिलाउन तयारी अवस्थामा रहेको श्रेष्ठले बताए ।
यो खबर नयाँ पत्रिकाले छापेको छ ।