काठमाडौं, मंसिर २४ । प्रदेश सभाअन्तर्गत तनहुँको क्षेत्र नम्बर २ (क)मा फर्जी मत भेटिएको भन्दै नेपाली काँग्रेसका उम्मेदवार प्रदीप पौडेलले पुनः निर्वाचनको माग गरेका छन् । पौडेलले एक विज्ञप्ति जारी गर्दै मुचुल्कामा २३२८ मत खसेकोमा मतगणनामा २३७० मत देखिएको भन्दै ४२ मत फर्जी भेटिएको बताएका हुन् ।
उले ४२ मत फर्जी भेटिएको कारण यो नतिजा स्वीकार गर्न नसकिने भएको कारण यो सबै प्रक्रिया रद्द गरी पुनःनिर्वाचन गर्न माग गरेका छन् । साथै उनले यदि आफ्नो मागलाई अस्वीकार गरिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएका छन् । यो क्षेत्रमा उनलाई पाँच मतले पराजित भएको घोषणा गरिएको थियो ।
साथै नेपाल विद्यार्थी संघले पनि उक्त क्षेत्रमा एमाले र माओवादी गठबन्धनले जबरजस्त गणना गर्दै पाँच मतले पराजित गराइएको बताएको छ ।
नेवि संघले सम्पूर्ण नेपालीहरुको आशा र परिवर्तनका सम्भावक युवा नेता पौडेलमाथि बाम गठबन्धन र प्रशासनको मिलेमतोमा कुकृत्य भएको आरोप लगाएको छ । उसले तत्काल निष्पक्ष छानबिन गरी पुनः मतगणना वा कानुनी सम्बोधन गर्न समेत माग गरेको छ ।