२५ मंसिर , काठमाडौँ – सङ्घीय संरचनाअन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलगत्तै गठन हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको बैठकको तयारीका लागि जोडतोडसाथ लागिरहेको व्यवस्थापिका संसद् सचिवालयले जनाएको छ ।
नेपालको इतिहासमा पहिलोपटक सङ्घीय संसद््का लागि निर्वाचन सम्पन्न भइसकेको तथा संविधानअनुसार संसद्ीय क्रियाकलाप सञ्चालन गर्न एउटा सङ्घीय संसद् सचिवालय रहने तथा त्यसअन्तर्गत प्रतिनिधिसभा सचिवालय र राष्ट्रियसभा सचिवालयको व्यवस्था हुने व्यवस्थापिका–संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि सदस्यहरू निर्वाचित भई आएपछि बैठक सञ्चालनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको कक्ष मर्मत सम्भारका लागि संसद् सचिवालय जोडतोडसाथ काम गरिरहेको र मेच, टेबुल तथा माइकको मर्मत कार्य भइरहेको उहाँले बताउनुभयो । राष्ट्रियसभाको कक्षका लागि केही संरचना बनाउनुपर्ने र थप मर्मत सम्भार गर्नुपर्ने भएकाले यस कक्षको निर्माण भने केही ढिलाइ हुने डा. गौतमले जानकारी दिनुभयो ।
यसका लागि आवश्यक सामान खरिदका लागि टेन्डर आह्वान भइसकेको र जतिसक्दो चाँडो राष्ट्रियसभा तयारी गर्न काम थालिसकेको उहाँले बताउनुभयो । सङ्घीय संरचनाअन्तर्गत केन्द्रमा एक सङ्घीय संसद् तथा सात प्रदेशमा सात वटा प्रदेशसभा रहने संविधानमा व्यवस्था छ । केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभा तथा प्रदेशमा एक सदनात्मक प्रदेशसभा रहने प्रावधान छ ।
निर्वाचनको अन्तिम परिणाम आएको एक महिनाभित्र प्रतिनिधिसभा र २० दिनभित्र प्रदेशसभा बोलाउनुपर्ने व्यवस्था रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
डा. गौतमले प्रदेशसभाका लागि प्रदेशसभा भवन, सचिवालय भवन, संसदीय दलको कार्यालय, विभिन्न समिति बस्न कक्षहरू तथा एउटा पुस्तकालय आवश्यक पर्ने संसद् सचिवालय आफूले गरेको अध्ययनका क्रममा देखिएको उल्लेख गर्नुभयो । सङ्घीय संसद् बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने र प्रदेशसभाको हकमा नेपाल सरकारले प्रदेशसभा केन्द्र तोकेपछि सोही स्थानमा तयारी सम्पन्न गरिने उहाँले बताउनुभयो । सङ्घीय संसद् तथा प्रदेशसभा सञ्चालनका लागि वार्षिक रु. दुई अर्ब ५५ करोड खर्च हुने अनुमान सचिवालयले गरेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
यो खाब्र आजको गोरखापत्रमा छ ।