०५ पौष , काठमाडौँ – मुआब्जा वितरणको विषयलाई लिएर आइतबारदेखि ठप्प गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे निर्माण कार्य आजबाट सुरु भएको छ ।क्रमसंख्याका आधारमा मुआब्जा वितरण गर्ने पीडित किसान र विमानस्थल व्यवस्थापन समितिबीच सहमतिपछि अबरोध भएको निर्माण कार्य सुचारु भएको हो ।
प्रमुख जिल्ला अधिकारी हरि मैनालीको संयोजकत्वमा बसेको सर्वपक्षीय बैठकमा आर्थिक लेनदेनमा नपरी क्रमसंख्याका आधारमा मुआब्जा बितरण गर्ने सहमति भएको हो । पीडितहरुले समयमै समस्या समाधान गर्न विमानस्थल आयोजनाको कार्यालयमै नापी र मालपोतको अस्थाई डेक्स राखिने परियोजना प्रमुख ओम शर्माले बताए ।पूर्णरुपमा घरबारविहीन भएका, बिरामी परेका पीडितहरुको पहिचान गरी मुआब्जा वितरण गरिने प्रमुख शर्माले बताए । मुआब्जा वितरणमा लापरवाही गरेको भन्दै स्थानीयले दुई दिनदेखि काममा अबरोध गरेका थिए । दुईवर्षदेखि जग्गा रोक्का हुँदा जिविकोपार्जनमा समस्या भएको भन्दै पीडित आन्दोलनमा उत्रिएका थिए । सहमति अनुसार, काम नभए फेरी आन्दोलन गर्ने सिद्धार्थनगर नगरपालिका वडा नं ४ का स्थानीय राजेन्द्रकुमार कार्कीले बताए ।
परियोजनाले जनाए अनुसार, अहिलेसम्म साढे ३ अर्व मुआब्जा वितरण भैसकेको छ । सात हजार कित्ता जग्गा रहेको अधिग्रहण क्षेत्रका लागि २३ अर्व बढी रकम लाग्ने बताइएको छ । अहिलेसम्म आयोजनाको ३३ प्रतिशत काम सकिएको छ ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।