१८ माघ , पाँचथर – उत्तरी पाँचथरको याङ्वरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेलाई बिदाको समयमा पनि फुर्सद छैन ।
गाउँपालिका कार्यालयमा मात्रै नभएर वडा कार्यालयमा समेत कर्मचारी अभाव भएपछि कामको बोझ बढेको हो ।
‘तीन–चारजनाले गर्नुपर्ने काम एकजनाले गर्नुपर्दा कसरी गुणस्तरको अपेक्षा गर्ने’ आङ्देम्बेले भने, ‘विशेष गरेर वडा तहमा सचिव र गाउँपालिका तहमा विषयगत कार्यालयमा कर्मचारी अभाव छ ।’
याङ्वरक गाउँपालिकाको वडा नम्बर–५ मा सचिव नै छैनन् । उनको काम वडा नम्बर १ का सचिवले हेरिरहेका छन् । उता गाउँपालिका तहमा शिक्षा शाखा, वन शाखा, सिँचाइ शाखालगायतका शाखामा कर्मचारी नै छैनन् । ती शाखामा हुने काम गाउँपालिकाका कर्मचारीले गर्नुपरेको छ ।
कृषि, महिला, पशु र स्वास्थ्य शाखामा पनि कर्मचारी कम छन् । एकजना कर्मचारीले सबै काम गरिरहेका छन् । यता फालेलुङ गाउँपालिकामा पनि समस्या उस्तै छ । गाउँपालिकाका आठवटा वडामध्ये एउटा वडामा मात्रै सचिव छन् ।
अन्य वडामा अस्थायी सचिवले काम सम्हाल्दा स्थानीयलाई सेवा लिन समस्या छ । फालेलुङ गाउँपालिकामा पनि विषयगत शाखामा कर्मचारी नहुँदा समस्या भइरहेको छ ।
यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।