सर्वेन्द्र र शैलेन्द्र महानिरीक्षक नियुक्त, को हुन् सर्वेन्द्र ?
नयाँ पत्रिका काठमाडौं, २८ चैत | ०५ मिनेट अगाडि
सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी)मा सर्वेन्द्र खनाललाई नियुक्त गरेको छ । त्यस्तै, सशस्त्र प्रहरी बलको महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त भएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सर्वेन्द्र र शैलेन्द्रलाई दुई प्रहरी संगठनको महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकपछि सूचना प्रविधि तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले सर्वेन्द्रलाई प्रहरी सेवा नियमावली, २०७१ र शैलेन्द्रलाई सशस्त्र प्रहरी बल सेवा नियमावली, २०७२ अनुसार नियुक्त गरिएको बताए । उनले भने, ‘नेपाल प्रहरीमा आइजिपीका रूपमा सर्वेन्द्र खनाल नियुक्त भएका छन् । सत्रस्त्र प्रहरीमा शैलेन्द्र खनाल नियुक्त भएका छन् । सरकारको यो निर्णय ०७४ चैत २९ गतेबाट लागू हुनेछ ।’
नेपाल प्रहरीमा आइजिपीको दौडमा सर्वेन्द्रसँगै डिआइजीद्वय रमेश खरेल र पुष्कर कार्की पनि थिए । तर, डिआइजी सर्वेन्द्रलाई गृह मन्त्रालयले नेपाल प्रहरीको भावी आइजिपीका रूपमा सिफारिस गरेपछि मन्त्रिपरिषद् बैठकले उनकै पक्षमा निर्णय गरेको हो ।
सशस्त्रमा भने एआइजी पुष्पराम केसी र नारायणबाबु थापा दौडमा थिए । गृह मन्त्रालयले सशस्त्रको भावी आइजिपीका रूपमा गृहले सिफारिस गरेको शैलेन्द्रको नाम मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको हो ।
दुवै प्रहरीको नेतृत्व नियुक्त गर्नुअघि प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादलबीच छलफल भएको थियो । छलफलमा सहमति जुटेपछि गृहमन्त्री थापाले मन्त्रिपरिषद् बैठकमा नेपाल प्रहरीमा सर्वेन्द्र र सशस्त्रमा शैलेन्द्रलाई भावी नेतृत्वका रूपमा नियुक्त गर्न प्रस्ताव लगेका थिए । नेपाल प्रहरीमा डिआइजीमा बढुवा हुँदा सर्वेन्द्र १ नम्बरमा थिए । सशस्त्रमा शैलेन्द्र एआइजीमा एक्लो उम्मेदवारका रूपमा बढुवा भएका थिए ।
एसएसपीकै कासमुका आधारमा सर्वेन्द्र आइजिपी
सरकारले एसएसपी छँदाकै कार्य सम्पादन मूल्यांकन (काममू)का आधारमा सर्वेन्द्रलाई आइजिपीमा नियुक्त गरेको हो ।
नियमअनुसार नेपाल प्रहरी कासमू प्रत्येक आर्थिक वर्षको अन्त्यमा मात्रै तयार गरिन्छ । सर्वेन्द्रसँगै बढुवा भएका रमेश खरेल, पुष्कर कार्की र धिरु बस्नेत आठ महिनाअघि मात्रै एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए।
त्यसैले आइजीका दौडमा रहेका कुनै पनि उम्मेदवारको कासमू तयार पारिएको थिएन । यसकारण सरकारले आइजिपी नियुक्तमा डिआइजीको कासमू हेर्न सकेन । एसएसपीबाट डिआइजीमा बढुवा हुँदाको वरिष्ठतालाई आधार मानेर आइजिपी नियुक्त गर्यो ।
को हुन् सर्वेन्द्र ?
२९ माघ ०४६ मा सर्वेन्द्र प्रहरी निरीक्षकका रूपमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए । उनीसँगै सेवा प्रवेश गरेका राजेन्द्रमान श्रेष्ठ प्रहरी निरीक्षकको तालिमपछि एक नम्बरमा आए । डिएसपीमा बढुवा हुँदा भने रमेश खरेल एक नम्बर भए । त्यसपछि वरिष्ठतामा श्रेष्ठ थिए । खनालको रोलक्रम तेस्रोमा थियो । डिएसपीबाट एसपीमा बढुवा हुँदा पनि खरेल नै अघि भए । जब महानगरीय प्रहरी परिसर काठमाडौंको नेतृत्वमा खनाल आए, त्यसपछि उनको कामको चर्चा हुन थाल्यो । त्यसवेला काठमाडौंमा गुन्डा नाइकेको जगजगी थियो । गुण्डाविरुद्ध अप्रेसन चलाएर खनाल चर्चामा आए ।
एसपीबाट एसएसपीमा बढुवा हुँदा पनि खरेल नै अघि थिए । त्यसपछि भने उनी विभिन्न विवादमा मुछिए । त्यसमध्ये श्रीमतीका नाममा सुराकी रकम लिने घटना चर्चामा रह्यो । उनले माथिल्ला प्रहरी अधिकृत ब्रिफकेस बोकेर बढुवाका लागि नेताकहाँ धाउने गरेको भन्दै सार्वजनिक रूपमै भने । त्यसपछि उनको करिअरमा बादल लाग्न थाल्यो । उनी संयुक्त राष्ट्रसंघको सुडान मिसनमा गए । त्यही वेला खनालले महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको नेतृत्व सम्हाले । यो जिम्मेवारीमा छँदा उनले फुटबलमा म्याच फिक्सिङको अप्रेसन गरे । फुटबलका राष्ट्रिय खेलाडी म्याच फिक्सिङमा संलग्न रहेको भन्दै जेल हाले । त्यसलगत्तै चर्चित डन कुमार घैँटेको इन्काउन्टर गरे । उनको करिअरले उचाइ लियो । एसएसपीबाट डिआइजीमा बढुवा हुँदा खरेललाई पछि पार्दै एक नम्बरमा बढुवा भए । अन्ततः यही आधारमा उनलाई सरकारले नेपाल प्रहरीको २५औँ आइजिपीका रूपमा छान्यो ।
राजीनामा दिन्छु : रमेश खरेल
यो रमेश खरेलको बोली हो । बुझ्नुस् फाइनल डिसिजन हो ।
सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् । मंगलबार साँझ नयाँ पत्रिकाका सुजित महतलाई खरेलले दिएको संक्षिप्त प्रतिक्रिया :
नेपाल प्रहरीको महानिरीक्षकमा तपाईंको पनि दाबेदारी थियो, सहब्याची सर्वेन्द्र खनालले यो जिम्मेवारी पाउनुभएको छ, तपाईंको प्रतिक्रिया के छ ?
आइजिपीमा नियुक्त साथीलाई म बधाई दिन चाहन्छु । २९ वर्ष नेपाल प्रहरीको सेवा गरेँ । भोलि (बुधबार)देखि बिदा हुँदै छु ।
आफूले अवसर नपाउनासाथ सार्वजनिक रूपमा असन्तुष्ट व्यक्त गर्ने, अदालत जाने र राजीनामा पनि दिने प्रचलन आएको छ, यसले फौजमा कस्तो संस्कार बसाउला ?
पद्धति बसाएर निर्णय गर्नुपर्छ । भागबन्डा नहुने भए मात्र प्रहरीभित्र पनि असल संस्कार बस्न सक्छ । म भलिबल खेलाडीका रूपमा प्रहरी जवान भई यो संगठनमा छिरेको हुँ । प्रहरी जवानकै रूपमा प्रवेश गर्दा पनि म एक दिन शीर्षस्थ स्थानबाट नेपाल प्रहरीलाई हाँक्छु भन्ने सपना देखेको थिएँ । त्यही सपना पूरा गर्न मैले जानजान गल्ती कहिल्यै गरिनँ । तर, त्यो अवसर पाइनँ । हीन भावना बोकेर बसेँ भने पनि संगठनलाई शतप्रतिशत नतिजा दिन सक्दिनँ । त्यसैले बिदा हुने निर्णय गरेको छु ।
सरकारले कसै न कसैलाई जिम्मेवारी दिनुपथ्र्यो, एकजनालाई दियो । तपाईंप्रति अन्याय के भयो ?
म संगठनप्रति आभारी छु । आज जे छु त्यो नेपाल प्रहरीको कारण छु । निर्णय गर्ने जिम्मा सरकारको हो । सरकारप्रति गुनासो छैन । उसलाई ठीक लागेको निर्णय गर्यो होला, बाँकी काम मेरो विवेकको हो । म राजीनामा दिन्छु ।
तपाईं योग्य अफिसर हो तर सबैभन्दा अब्बल तपाईं नै हो भन्ने आधार के हो ?
दाबेदार सबैले आफूलाई अब्बल ठान्छन् । मैले पनि ठानेँ, के बिराएँ । प्रमाण पेस गर्न सक्दिनँ । मूल्यांकन अरुले गर्ने हो ।
सरकारले भर्खर निर्णय गरेको छ, त्यसैले तपाईंको तातो प्रतिक्रिया होला । भोलि (बुधबार) बिहानसम्म पुनर्विचार गर्नुहुन्छ होला नि ?
यो रमेश खरेलको बोली हो । बुझ्नुस् फाइनल डिसिजन हो ।
अबका दिन कसरी बिताउनुहुन्छ ?
सोचेको छैन । परिवार र राष्ट्रका लागि गर्ने हो ।
राजनीतिमा… ?
मेरो स्वभाव राजनीति सुहाउँदो छैन । तर, गर्दैगर्दिनँ भनेर कसम किन खानू ?
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।