खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको निर्माणको प्रगतिबारे बोल्दै आफूहरु हिलारी स्टेपमा पुगेको र केही महिनामा सगरमाथाको चुचुरोमा पुग्ने बताएकी छिन् ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा मन्त्री मगरले भनिन्, ‘सगरमाथा चढ्दा हिलारी स्टेप भन्ने हुन्छ, त्यहाँ पुगेपछि हामी सगरमाथाको शिखर चढेको अनुभूति हुन्छ। मेलम्ची खानेपानी आयोजना सुरुङ मार्ग निर्माण सकिएको छ । हामी हिमाली स्टेपमा पुग्यौँ। अब केही महिनामै सगरमाथाको चुचुरोमा पुग्छौँ।’
‘मेलम्ची काठमाडौँबासीको सपना हो। निकट भविष्यमै सपना सार्थक हुँदैछ’ मन्त्री मगरले भनिन्, ‘काठमाडौँबासीको मुहारमा खुसी आउँदैछ। हामी त्यसका लागि सम्पूर्ण मेहेनत गरेका छौँ। काठमाडौँको प्यास मेटाउने सिन्धुपाल्चोकका जनतालाई हृदयदेखि मेरो धन्यवाद छ।’
‘म मन्त्री भएर आएदेखि नै रातदिन नभनी काम गरिरहेका छौँ। हामी समृद्धिको नयाँ युगतिर लम्किएका छौँ। हामीलाई एक मिनेट पनि विश्राम लिने छुट छैनू मन्त्री मगरले भनिन्, ूतपाईहरु पनि रातदिन नभनी काम गर्नुस्। हामीले जनतालाई नतिजा दिनुपर्छ। बोलीले होइन, व्यवहारले जनताको अनुहारमा खुसी ल्याउनुपर्छ।’
कार्यक्रममा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले काठमाडौंलाई मेलम्ची सुम्पन पाएकोमा खुसी व्यक्त गरे । मन्त्री तामाङले भने, ‘हामी मेलम्ची काठमाडौंलाई सुम्पदै छौं। यत्रो मेलम्ची काठमाडौंलाई सुम्पेपछि यहाँका स्थानीयका समस्या पनि सरकारले हेर्नुपर्छ।’
औपचारिक कार्यक्रमपूर्व उपराष्ट्रपति नन्दबहादुर पुनले २६ किमी लामो सुरुङ मार्गको उद्घाटन गरेका थिए। कार्यक्रममा आयोजना प्रमूख रामचन्द्र देवकोटाले आयोजनाको ब्रिफिङ गरेका थिए।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।