प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाल–भारतबीच विभिन्न विषयका द्विपक्षीय संयन्त्रको बैठक बस्ने भएको छ । पञ्चेश्वरलगायत मामिलामा छलफल गर्न जलस्रोत सचिवस्तरीय बैठकदेखि गृहसचिवस्तरीय बैठकको तयारी भइरहेको छ ।
आगामी वैशाख २ र ३ गते जलस्रोत सचिवस्तरीय स्टेरिङ कमिटीको बैठक दिल्लीमा बस्ने तय भएको छ । नेपाली कार्यवाहक राजदूत भरतकुमार रेग्मीले नयाँ पत्रिकासँग भने, ‘बैठकमा पञ्चेश्वर परियोजनाको डिपिआरलगायत विषयमा छलफल हुनेछ ।’ त्यस्तै, वैशाख ९ देखि १३ सम्म वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति (आइजिसी)को बैठक पोखरामा बस्ने तय भएको छ ।
यसमा पारवाहन, व्यापारलगायतका विषयमा प्रधानमन्त्रीस्तरीय बैठकमा भएका सहमति कार्यान्वयनमा जोड दिइनेछ । भारतीय प्रधानमन्त्री मोदीले नेपालको व्यापार घाटा कम गर्ने रोडम्याप पेस गर्न भारतीय वाणिज्य अधिकारीलाई शनिबार निर्देशन दिएका थिए । सो विषयमा पनि छलफल हुने बुझिएको छ ।
नेपाल र भारतबीच रक्षा मामिलासँग सम्बन्धित संयुक्त परामर्श समितिको बैठक बस्ने तयारी भएको छ । दुवै देशका सहसचिवले नेतृत्व गर्ने बैठकमा अधिकांश नेपाली र भारतीय सेनाका अधिकारी सहभागी हुनेछन् । सैन्य सामग्री खरिदलगायत विषयमा बैठकमा छलफल हुने बुझिएको छ ।
त्यसपछि दुई देशबीच गृहसचिवस्तरीय बैठक बस्दै छ । सचिवस्तरीय बैठक सम्पन्न भएपछि दुवै देशका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बस्नेबारे दुई देशबीच छलफल भइरहेको छ । दुई वर्षअघि आयोगको बैठक दिल्लीमा भएको थियो भने अब काठमाडौंमा हुनेछ ।
यसैबीच, उद्योग वाणिज्यमन्त्री मातृका यादव ५० देशका पेट्रोलियम मन्त्रीहरूको बैठकमा सहभागी हुन दिल्ली पुगेका छन् । उनी यसअघि प्रधानमन्त्रीको भ्रमणमा र वाणिज्यमन्त्रीस्तरीय बैठकमा भाग लिन दुई पटक भारत पुगिसकेका छन् ।
चैत २९ र ३० गते नयाँदिल्लीमा नेपाल–भारतसम्बन्ध समीक्षा गर्दै प्रतिवेदन दिन गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)को बैठक बस्दै छ । ‘यो बैठकपछि हामी प्रतिवेदन लेख्न सुरु गर्छौँ,’ इपिजी भारतका संयोजक भगतसिंह कोस्यारीले नयाँ पत्रिकासँग भने ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।