सीताराम चौधरी, कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिकाका सम्पूर्ण वडा यही बैशाखभित्र खुला दिसामुक्त घोषणा हुने भएका छन् । अबको १५ दिनभित्र खुला दिसामुक्त हुन नसकेका वडाका सम्पूर्ण घरमा शौचालय निर्माण गराउने वडाध्यक्षहरुको प्रतिबद्धता अनुसार बैशाखभित्रै शिवराजका सम्पूर्ण वडा खुलादिसामुक्त घोषणा हुने भएका हुन् ।
शिवराज नगरपालिकामा बसेको एम–वास–सीसीको बैठकमा वडाध्यक्षहरुले यस्तो प्रतिबद्धता जनाएका थिए । शिवराजका ४, ६, ७ र ८ नम्बर वडाहरु खुला दिसामुक्त हुन बाँकी छन् । बैठकको निर्णयानुसार वडा नं. ४लाई बैशाख २५ गते खुला दिसामुक्त घोषणा गरिनेछ ।
वडा नं. ६ बैशाख २८ गते, वडा नं. ७ बैशाख २७ गते र वडा नं. ८ वैशाख २४ गते खुला दिसामुक्त घोषणा हुने निर्णय पारित भएको सरसफाई दूत महादेव पोखरेलले जानकारी दिनुभएको छ ।
कूल २९सय ४४ घरधुरी रहेको चारैवटा वडामा गरी ९सय ६५ घरधुरीमा शौचालय बनेको छैन । यस्तै ५सय २४ घरधुरीमा शौचालय निर्माण भइरहेको वास अफिसर राजेश चौधरीले बताउनुभयो । अभियानका क्रममा वडा नं. १, २, ३ र ५ खुला दिसामुक्त घोषणा भइसकेका छन् । भने वडा नं. ९, १० र ११ अभियानअघि नै खुला दिसामुक्त भइसकेका थिए ।
बैठकमा नगरस्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति अध्यक्ष एवं शिवराज नगरपालिका नगरप्रमुख नेत्रराज अधिकारीले बैशाखभित्रै शिवराज नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिने लक्ष्यका साथ अभियानलाई अघि बढाइएको बताउनुभयो ।
सोही अनुसार वडास्तरीय एक्सन प्लान बनाएर सरसफाई कार्यलाई अघि बढाउन सम्पूर्ण वडाध्यक्षहरुलाई नगरप्रमुख अधिकारीले निर्देशन समेत दिनुभयो । बैठकमा वास सहजकर्ता दयाराम शर्माले सरसफाई एवं शौचालय निर्माण र प्रयोगबारे सहजीकरण गर्नुभएको थियो ।
बैठकमा शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारु, प्रमुख कार्यकारी अधिकृत शेषकान्त पौडेल, सरसफाई दुत महादेव पोख्रेल, चन्द्रौटा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ईश्वरी प्रसाद पाण्डेय, नगरका सम्पूर्ण वडाध्यक्ष एवं नगरस्तरीय सरसफाई तथा स्वच्छता समन्वय समिति सदस्यहरुको सहभागिता रहेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।