नेपाल समाचारपत्र, हेटौंडा ।
‘निर्वाचनको बेला अरु हाँस्दै भोट हाल्न जाँदा अनि समूहहरुमा बस्दा आफूलाई पनि भोट हालौं र समूहमा बसौंं जस्तो लाग्छ । तर, नागरिकता नभएका कारण सबै रहर मारेर बस्नु परेको छ,’ वृद्धाहरुको गुनासो हो यो ।
हेटांैडा–१,चौकीटोलमा रहेको ओम वृद्धाश्रममा ६ वर्षदेखि आश्रित ६३ वर्षीया रमा काफ्लेको नागरिकता नहुँदा आफूले हरेक इच्छा÷आकांक्षा मारेर बस्नुपरेको गुनासो छ । काठमाडौंमा हुर्केकी काफ्ले ९ महिना हँुदा आमाबुबाको निधन भएपछि आफूलाई अरुले नै पालेको बताउँछिन् । अरुले सहारा दिएपछि नागरिकता बनाउन नसकेकोमा उनलाई पीडा छ ।
सिन्धुलीमा उनको विवाह भयो । तर, पतिको नामबाट नागरिकता बनाउन आमाबाबुको फोटो नभएका कारण आफ्नो नागरिकता प्रमाणपत्र बन्न नसकेको उनले बताइन् ।
तनहुँका ६४ वर्षीय दिलबहादुर थापाले भने–आफूलाई कहिले काहिँकतै जान मन लागेको हुन्छ, खान मन लागेको हुन्छ । यस्ता साना कुराका लागि आश्रमलाई दुःख दिने कुरा पनि आएन । सरकारले उपलब्ध गराउने भत्ता पाए धेरै सहज हुने उनले बताए । थापा भन्छन्–उमेर भएको समयमा नागरिकताकै कारण कयौं अवसर गुमाउनुपर्याे ।
६५ वर्षीया शान्ता कोइरालाको पनि उस्तै पीडा छ । नागरिकता नभएका कारण आफूसरह उमेरका मान्छेले सरकारी भत्ता बुझिरहँदा आफू भने त्यसबाट बञ्चित हुनुपरेको उनले बताइन् । सानैमा बाबुआमा बितेका कारणले नागरिकताको अनुहारसमेत हर्न नपाएको कोइरालाले गुनासो पोखिन् । ‘नेपाली नागरिक हुँ । तर, हालसम्म यसको हकअधिकार भने प्राप्त गर्न सकिएन,’ उनले भनिन् ।
३ वर्षदेखि आश्रममा बस्दै आएका नुवाकोटका मोहनप्रसाद पौडेलले आफू नेपाली नागरिक भए पनि त्यसको प्रमाणीकरण हुन नसकेको बताए । पौडेलको पनि आमाबुबा बितेको कारण आफूले नागरिकता पाउन नसकेको गुनासो पोखे ।
‘कयौं ठाउँ धाएँ नागरिकताका लागि । ७० वर्ष लागें, हालसम्म पनि बनेन,’ उनले भने–हामी त परिवारबाट हेपिएको मान्छे, सरकारले पनि सहयोग नगर्दा दुःख लागेको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले भने केही प्रमाणबिना नागरिकता दिन नमिल्ने बताए । ठाउँ, कसका छोराछोरी अथवा मतदाता कार्डको पुष्टि नभइ दिन नसकिने उनले बताए । आश्रममा २६ वृद्धवृद्धा छन्, जसमा १० जनाको नागरिकता छैन ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।