काठमाडौँ । छोटो समयमा राजनीतिक स्वार्थ र आर्थिक चलखेलका आधारमा आयोजना प्रमुख परिवर्तन गर्दा राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण सुस्त भएको छ ।
१० वर्षमा सम्पन्न हुनुपर्ने आयोजनाहरू १५ वर्षमा पनि हुन नसक्नुमा आयोजना प्रमुख फेरबदल मुख्य कारक मानिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाको काम तीव्र गतिमा सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि मन्त्रीहरूले उनको भावनाविपरीत ६ महिनामै प्रमुख परिवर्तन गरेका छन् ।
जसका कारण काममा असर पर्न थालेको छ । प्रधानमन्त्रीको चाहना प्रतिबद्धताविपरीत ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजनामा ६ महिना नपुगी प्रमुख फेरबदल गरेका छन् । मन्त्री पुनले सहसचिव प्रमुख हुने राष्ट्रिय गौरवका आयोजनाहरूमा उपसचिव(डीई)हरूलाई कामु प्रमुखका रूपमा खटाएका छन् । ६ महिनाअघि सिक्टा सिंचाईको प्रमुखमा सरुवा भएका सहसचिव महेश्वरनरसिंह केसीलाई जलस्रोत मन्त्रालयमा तानेर मन्त्री पुनले उपसचिव(डीई) रमेशकुमार बस्नेतलाई पठाएका छन् ।
सुनसरी–मोरङ आयोजनाको प्रमुखमा सहसचिव हरेराम श्रेष्ठलाई सरुवा गरेका छन् । मन्त्रालयका सहसचिव सागर राईलाई जलस्रोत अध्ययन अनुसन्धान केन्द्रमा थन्क्याएको छ । उपसचिव रमेशकुमार बस्नेत ६ महिनाअघि सिक्टाबाटै सुनसरी–मोरङ सिंचाई आयोजनामा सरुवा भएका थिए । २०७४ वैशाख ४ मा मन्त्री पुनले बस्नेतलाई सिक्टामा सरुवा गरेका हुन् ।
सिंचाईमा उपसचिव बस्नेत अति बदनाम मानिन्छन् । उनी रानीजमरा कुलरिया सिंचाई आयोजनाको प्रमुख हुँदा आयोजनाको प्रमुखका रूपमा १ अर्ब ७० करोड रूपैयाँभन्दा बढीको ठेक्का मिलेमतोमा पूर्वमन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन कम्पनीलाई दिएका थिए । कालिकालाई मिलेमतोमा ठेक्का दिएर करोडौँ भ्रष्टाचार गरेका उपसचिव रमेशकुमार बस्नेतलाई कारवाही गर्नुपर्नेमा पुरस्कृत गर्दै अर्को राष्ट्रिय गौरवको आयोजना सिक्टाको प्रमुखमा सरुवा गरिएको थियो ।
उक्त ठेक्का प्रक्रियामा टेण्डर खुलेपछि कालिका कन्स्ट्रक्सन कम्पनी, स्वच्छन्द निर्माण सेवा, तुँदी कन्स्ट्रक्सन र एक चिनियाँ कम्पनीले टेण्डर प्रस्ताव गरेका थिए । ठेक्का हाल्ने चार वटा कम्पनीमध्ये कालिका कन्स्ट्रक्सन कम्पनीलाई ठेक्का दिई बाँकी ३ वटा टेण्डर हाल्ने कम्पनीहरूलाई बस्नेतले नै च्याँखे दिएर कालिका कन्स्ट्रक्सनको नाममा टेण्डर स्वीकृत गरेका थिए । बस्नेतले रानीजमराको प्रमुख हुँदा कैलालीमा दुईवटा ३ अर्बको ठेक्कामा पनि अनियमित रूपमा मिलेमतोमा दिई करोडौँ रूपैयाँ घुस खाएको आरोप लागेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।