रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा निजी क्षेत्रसँग सम्झौता गरेर विभिन्न प्रकारका फोहरमैलाको व्यवस्थापन हुन थालेको छ ।
वातावरणीय सुन्दर नेपाल प्रालि, बुटवलसँग भएको सम्झौतानुसार सड्ने फोहरमैला सातामा दुई पटक र नसड्ने १० दिनमा एक पटक उठाइने नगरपालिकाका प्रमुख चित्रबहादुर केसीले जानकारी दिनुभयो । फोहरमैला व्यवस्थापनका लागि नगरपालिका क्षेत्रका मुख्य बजार मुर्गिया, सालझण्डी र कलौनीमा पहिलो चरणमा नै सरसफाइ गरिने र त्यसलाई अन्य विभिन्न ठाउँमा निरन्तरता दिइने बताइएको छ ।
नगरपालिका प्रमुख केसीले फोहरमैला व्यवस्थापनका लागि रु ३० देखि रु एक हजार ५०० सम्म शुल्क लिएर २० लिटरको फोहर राख्ने भाँडो प्रयोगमा ल्यायने जानकारी दिँदै फोहर व्यवस्थापन गर्न निजी क्षेत्रलाई रु दुई लाख ७५ हजार दिने सहमति भएको बताउनुभयो । नगरका विभिन्न टोल विकास संस्थालाई तत्काल दुई हजार ५०० फोहर राख्ने भाँडो अनुदानमा वितरण हुने र थप दुई हजार ५०० पुनः वितरण हुने जनाइएको छ ।
“नगरको सौन्दर्य सभ्यताको सूचक हो, त्यसैले यसलाई सबैले आत्मसात् गर्नुपर्छ”, उहाँले भन्नुभयो । नगरप्रमुख केसीले प्लाष्टिकजन्य फोहर जलाउनसमेत उपभोक्तालाई रोक लगाइएको उल्लेख गर्दै कसैले अटेर गरेम्ँ जरिवाना गरिने बताउनुभयो । नगरपालिकामा एक सातामा १५ क्विन्टल फोहरमैला सङ्कलन हुन्छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।