मोतीराम तिमल्सिना, काभ्रे । खानिखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा मात्रै सडकको लागि ६ करोड रकम विनियोजन गरेकोमा अधिकांश सडकको काम सम्पन्न गरेको छ ।
गाउँपालिकाको केन्द्र जोड्ने गरी निर्माण गरिएका सडकहरु केहि वडाबाट केन्द्रमा आउन अझै समय लाग्ने भएको छ । खोपासी–ताल्ढुङ्गा सडक निर्माणको कार्य सम्पन्न हुन नसक्दा मकवानपुर, ललितपुर हुँदै काभ्रेपलाञ्चोक जिल्ला पुग्नु पर्ने बाध्यता छ ।
उक्त सडक खण्डमा रहेको कोक्रेभिरको पहरा फुटाउन नेपाली सेनाको सहयोग आवश्यक छ । सांसदहरु गंगाबहादुर दोङ्ग, चन्द्र लामा, गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलाल लगायत संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विशेष पहल गरिरहँदा पनि उक्त सडकको ट्रयाक खोल्न सम्भव भएको छैन ।
प्राविधिक कारण देखाउँदै रक्षा मन्त्रालयमा अड्किएको फाईल फुकाउन भएका प्रयास सफल भएको छैन । तर पनि गाउँपालिकाले च्याल्टी फलामेटार सडक, डाँडागाउँ भाङ्गटार सडक, डाँडागाउँ धार्नी सडक, ताल्ढुङ्गा जगथली सडक, ताल्ढुङ्गा बाझगाउँ सडक, बोराङ्ग ताल्ढुङ्गा सडक, माझिटार बल्देउ सडक, माझिटार मासबारी सडक, मासबारी कुस्पा सडक, खजुलीबेशी धाप्ले सडक, धाप्ले बोराङ्गबेशी सडक, धाप्ले मिल्चे सडक, दयागाउँ खोरभञ्याङ्ग महादेवटार सडक, खोरभञ्ज्याङ्ग भिमसेन डाँडा सडक निर्माण भईरहेका छन् ।
सबै वडा कार्यालयबाट सवारी साधनको प्रयोग गरी गाउँपालिकाको केन्द्रमा आईपुग्न सहज होस् भन्ने हेतुले गाउँपालिकाले पहिलो प्राथमिकतामा सडक राखेर काम शुरु गरेको अध्यक्ष खुलालले बताए ।
दर्जन भन्दा धेरै सडक निर्माण भए पनि अझै मिल्चे र फलामेटारबाट सडक केन्द्रसम्म जोडिएको छैन । गाउँपालिकामा रहेका ३६ वटा विद्यालयलाई २ करोड भन्दा धेरै रकम विनियोजन गरिएको छ ।
मावि ६ वटा, निमावी २ वटा र प्रावि २८ वटा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको क्षमता अभिबृद्धी र भौतिक पूवार्धार पहिलो प्राथमिकतामा राखिएको छ । सरकारले निशुल्क उपलब्ध गराउने भनिएका सबै औषधीहरु उपलब्ध गराईएको छ ।
जिल्ला र केन्द्रबाट प्राप्त हुने औषधी गाउँपालिकाबाटै खरिद गर्न लागिएपछि सर्वसाधारणलाई सहज भएको छ । सबै वडामा खानेपानी उपलब्ध गराउने अभियान शुरु भएको छ ।
डाँडागाउँको बाँसघारीमा बाहेक अन्यत्र सबै स्थानमा खानेपानीको सहजता रहेको उपाध्यक्ष रुकमणी गुरुङ्गले बताईन् ।
शौचालय निर्माणको क्रम जारी छ । अझै गाउँपालिकामा ११ सय शौचालय निर्माण गर्न बाँकी छ । १ हजार थान प्यान वितरण भईसकेको छ । संचार तथा सूचना प्रविधि राज्य मन्त्री गोकुल बास्कोटा मार्फत पठाईएका सोलार प्यानल वितरणको कार्य शुरु भएको अध्यक्ष खुलालले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।