नेपाल समाचारपत्र
काठमाडौं
प्रतिनिधिसभाको बिहीबारको बैठकमा पनि विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथिे मन्त्रालयगत छलफल भएको छ। बुधबारबाट शुरू भएको छलफलमा बिहीबारका लागि ३ वटा मन्त्रालय छुट्याइएको थियो।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयअन्तर्गतका विभिन्न शीर्षकमाथि छलफल भएको छ। बजेटमाथिको छलफलमा विपक्षी दलका सांसदले नेपाल टेलिभिजनका लागि आवश्यकभन्दा बढी रकम छुट्याइएको भन्दै आलोचना गरेका छन्। सांसद्ले विश्व सम्पदा सूचीमा रहेका सांस्कृतिक सम्पदाको संरक्षणमा बजेटले ध्यान नदिएको, लक्ष्यअनुसार पर्यटन भियाउने योजनासहित बजेट आउन नसकेको, पर्यटन विकासको नीतिगत विकासको योजनालाई ध्यान नदिइएको आरोप लगाएका छन्।
विद्यालयमा खेलकुद अनिवार्य गर्ने, जिल्ला र क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने योजना नआएको, रोजगारीका नाममा विदेशिने युवालाई स्वदेशमा नै रोक्न स्वरोजगारका योजनासमेत आउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। कर छली गर्नेविरुद्व सरकार नलागेको र भ्रष्टाचार न्यूनीकरण हुन नसकेको, बन्द उद्योग कलकारखाना सञ्चालनका लागि उपयुक्त योजना बजेटमा आउन नसकेको आरोपसमेत विपक्षी दलका सांसद्ले लगाए। सत्तापक्षीय दलका सांसदले भने बजेट आर्थिक समृद्धिका लागि विशेष योजनासहित आएको भन्दै त्यसकोे कार्यान्वयनमा जोड दिनुपर्ने बताउँदै बजेटको समर्थन गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा सांसद प्रमिला राई, प्रकाश रसाइली, डा. मीनेन्द्रप्रसाद रिजाल, प्रेम सुवाल, दुर्गा पौडेलले उल्लेखित ३ मन्त्रालयसँग सम्बन्धित विभिन्न शीर्षकका ५ वटा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका थिए। रिजाल, सुवाल र पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, राईले युवा तथा खेलकुद र रसाइलीले अर्थ मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गर्नुभएको थियो।
छलफलमा सांसद खगराज अधिकारी, सञ्जयकुमार गौतम, लक्ष्मणलाल कर्ण, छक्कबहादुर लामा, कमला रोक्का, डिला संग्रौला पन्त, मीनबहादुर विश्वकर्मा, हरिनारायण रौनियार, रामबहादुर विष्ट, मोहन बानियाँ, तेजुलाल चौधरी, प्रेमबहादुर आले, लालबहादुर थापालगायतले मन्त्रालयको विनियोजन विधेयक, २०७५ का बारेमा धारणा राख्नुभएको थियो। संसद्को अर्को बैठक आइतबार ११ बजे बस्नेछ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।