नेपाल समाचारपत्र
नुवाकोट
नुवाकोटको सुर्यगढी गाउँपालिकालाई बिहिबार खुल्ला दिशामुक्त क्षेत्र र पुर्ण खोपयुत्त क्षेत्र घोषणा गरिएको छ ।
गाँउपालिकाको कार्यालय बागेश्वरीको चोगदेमा आयोजना गरिएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले सूर्यगढी गाँउपालिकालाई नुवाकोटको दशौँ स्थानीयतहको रुपमा खुल्ला दिशामुक्त क्षेत्र र चौथो पूर्ण खोपयुक्त क्षेत्र भएको घोषणा गर्नुभएको हो । साविकको चार गाविसहरु लच्याङ, बागेश्वरी, हल्देकालिका र गणेशस्थान समावेश मिलेर बनेको सूर्यगढी गाँउपालिकामा रहेको करिब चार हजार ४२ घरधुरी मध्ये ९९ प्रतिशत घरमा पक्की शौचालय निर्माण भएको सरकारी तथ्याङ्कको आधारमा सरसफाईको एक हिस्साको रुपमा रहेको खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको पूर्वअर्थमन्त्री महतले उद्घोष गर्नुभएको हो ।
यसैगरी गाँउपालिका भित्रका खोपको पहुँचमा आउनुपर्ने उमेर समूह १६ देखि २३ महिनासम्मका २०६ जना बालबालिका सबैले तोकिएको ११ प्रकारको खोप लिएकाले जिल्लाको चौथो स्थानीयतहको रुपमा सूर्यगढी पूर्णखोपयुक्त भएको घोषणा गरिएको हो । पूर्व अर्थमन्त्री महतले सरसफाई र स्वास्थ्य प्रति जागरुक हुदै भूकम्पले क्षति पुगेको आवास पुर्ननिर्माण हुन अझै बाँकी रहदाँ पक्की शौचालयको निर्माण गरी सभ्य समाजको रुपमा देखिएको चेतनाले अब आर्थिक समृद्धि तथा विकासको गतिमा अघि बढ्न प्रेरणा दिएको बताउनुभएको छ ।
उहाँले सूर्यगढी गाँउपालिका भित्र रहेको खानेपानीको अभावले घोषणा भएको खुल्ला दिशामुक्त कार्यान्वयनमा चुनौती देखिएकाले ड्वाचे खानेपानी आयोजनालाई चाडै सम्पन्न गर्न जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नुवाकोटलाई आग्रह गर्नुभएको छ । कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङले आधुनिक तथा प्रविधिको युगमा शौचालय निर्माण जस्ता दैनिकी जीवनसंग जोडिएका पक्षमा सुधार गर्न नेपालीहरुले ढिलाई गरी सरसफाइमा जागरुकता ल्याउन कठिन भएको बताउनुभएको छ ।
यस्तै, जिल्ला समन्वय समितिका प्रमुख एवम् जिल्ला सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सन्तमान तामाङले भूकम्पको आवासमा क्षति पुगेपछि पुर्ननिर्माणको लागी स्थानको निश्चित नहुदाँ घोषणा कार्यक्रममा प्रभावित हुनु पुगेकाले कार्यान्वयन भने उत्कृष्ट हुने विश्वास लिएको बताउनुभएको छ । गाँउपािलका अध्यक्ष सन्तबहादुर घलेले गाँउपालिका मार्फत प्रवाह हुने सेवामा स्वास्थ्य र सरसफाइलाई प्रथामिकतामा राखेर आवश्यक योजना तथा कार्यक्रम ल्याएर कार्यान्वनमा सबैलाई जागरुक बनाउने बताउनुभएको छ । खुल्ला दिशामुक्त तथा पूर्ण खोपयुक्त घोषणा कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति जगदिश्वरनरसिंह केसी, काँग्रेस युवा नेता रमेशकुमार महत, जिसस जिल्ला उपप्रमुख अप्सरा थापा, जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटका खोप अधिकृत अमृत महर्जन लगायतले घोषणा भएको कार्यक्रमलाई सही रुपमा कार्यान्वयन गरी विकास तथा सभ्य समाजतर्फ रुपान्तरण हुन आग्रह गरेका छन् ।
खुल्ला दिसामुत्त कार्यक्रममा वक्ताहरुले शौचालयको प्रयोग गर्न खबरदारी गर्ने र सरसफाइमा जोड दिनेलाई पुरस्कार र लापरबाही गर्नेलाई कारबाही गर्नुपर्ने, साबुनपानी तथा खरानीपानीले हात धुने बानीको विकास गर्नुपर्ने, व्यक्तिगत घरायसी एवम् घरायसी सरसफाईमा जोड दिनुपर्ने, फोहोरमैला व्यवस्थापन तथा उपयोगको कार्यक्रमहरु लागू गर्नुपर्ने, सुरक्षित पिउने पानीको महत्व र प्रयोगमा जोड दिनुपर्ने, गाँउ घरबीच सरसफाइ र नमूना गाँउ बनाउने विषयमा प्रतिस्पर्धा गराउनुपर्ने, वडालाई आगामी दिनमा धुवामुक्त र प्लास्टिकमुक्त क्षेत्र घोषणातर्फ लाग्नुपर्ने सुझाब दिएका छन् ।
कार्यक्रममा खोप तथा स्वास्थ्य सम्बन्धि जनेचेतनामूलक साँस्कृतिक कार्यक्रममा उत्कृष्ट भएको बागेश्वरी माविलाई १५ हजार, दोश्रो भएको गणेशस्थान स्थित गणेश माविलाई १० हजार, तेश्रो भएको हल्देकालिका स्थित गणेश माविलाई ५ हजार, सान्तवना स्थान हासिल गर्ने बिनायक मावि र कालिका माविलाई २५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । खुल्ला दिशामुक्त तथा पूर्ण खोपयुक्त कार्यक्रममा स्थानीयतह राष्ट्रियस्तरका कलाकारहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने विभिन्न स्थानबाट ¥याली, झाकी समेत निकालिएको थियो ।
नुवाकोटमा रहेका १२ स्थानिय तहमध्ये सुर्यगढी गाउँपालिका खुल्ला दिसामुत्त हुने स्थानिय तहको १० औ स्थानमा परेको छ । गत जेठ ८ गते नै नुवाकोटलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने तयारी भएपनि ३ स्थानिय तह ककनी, सुर्यगढी र बेलकोटगढीमा शौचालय बन्न नसक्दा नुवाकोट खुल्ला दिसामुत्त क्षेत्र घोषणा गर्न पछााडि धकेलिएको थियो । सुर्यगढी गाउँपालिकालाई खुल्ला दिसामुत्त क्षेत्र घोषणा गरिएसँगै नुवाकोटमा अब दुई गाउँपालिका मात्रै खुल्ला दिसामुत्त क्षेत्र घोषणा हुन बाँकी छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।