नेपाल समाचारपत्र, हेटौंडा
प्रदेश–३ का प्रदेशसभा सदस्यलाई संसदीय अभ्यास र कानुन निर्माण प्रक्रियाका सम्बन्धमा बुझाउने उद्धेश्यले हेटौंडामा अन्तक्र्रिया गरिएको छ ।
प्रदेश संरचना नेपालको पहिलो र प्रदेश सांसद्हरु पनि नयाँ भएकाले संसदीय अभ्यास सिकाउन कार्यक्रम गरिएको हो । प्रदेशसभा सचिवालय र नेपाल कानुन समाजको आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले अब जनताका हितका निम्ति काम गर्ने गन्तब्यमा पुग्न नजानेका कुरा सिकेर अगाडि बढ्नुपर्ने बताउनुभयो । समृद्ध नेपालको नारालाई अगाडि बढाउन काम गरिने उहाँको भनाइ छ ।
मुख्यमन्त्री पौडेलले प्रदेशका नागरिकका लागि व्यक्तिगत स्वतन्त्रता, सुरक्षा अनुभूति गर्न नयाँ ऐन/कानुन तर्जुमा गरिने बताउनुभयो । उहाँले प्रदेशका १३ जिल्लालाई समृद्ध बनाएर सर्वसाधारणलाई सुुशासनको माध्यमबाट दीगो शान्ति, सुरक्षाका साथै न्यायको अनुभूति गर्न र आर्थिक समृद्धितर्फ आत्मनिर्भर तुल्याउन सरकारले नीति कार्यक्रम र बजेट ल्याएको उल्लेख गर्नुभयो ।
प्रदेश सरकारले नीति तथा कार्यक्रमलाई अक्षरशः सम्बोधन गरेर बजेट ल्याएको र अब कार्यान्वयनमा लगिने उहाँले बताउनुभयो । प्रदेश सरकारका लागि धेरै कानुन निर्माण गर्नुपर्ने भएकाले सबैको सहयोगबाट काम गरिने भन्दै उहाँले प्रदेश सरकारका नीति र कार्यक्रम कार्यान्वयन गर्न समस्या हुने कानुन पहिले निर्माण गरिने बताउनुभयो ।
प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकार र प्रदेशसभाबीच सरकारले सहकार्य गरेर प्रदेशसभामा आवश्यक कानुनको मस्यौदा तयार पार्न कानुनी प्रशिक्षण आवश्यक रहेको चर्चा गर्दै प्रदेश सरकारले जनतालाई सुशासन, भ्रष्टाचार उन्मूलन गर्ने क्रियाकलापलाई प्रोत्साहन गरी प्रदेशस्तरमा ऊर्जा, पर्यटन र कृषि उत्पादनलाई उच्च प्राथमिकतासाथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशस्तरमा प्रहरी ऐन, अनुसन्धान ब्युरो र प्रादेशिक लोकसेवा आयोग स्थापना गर्न राष्ट्रिय सरोकार र सरकारी कामकारबाही र कार्यक्षेत्रलाई प्रभावकारी बनाउन सरकारले ९९ वटा विधेयकको मस्यौदा तयार गरी आव २०७५÷०७६ भित्र कानुन निर्माण गरिसक्ने बताउनुभयो ।
प्रदेश मामिला समिति सभापति माधव पौडेल, प्रदेश मुख्य न्यायाधीवक्ता सूर्यचन्द्र न्यौपाने, प्रदेशसभा उपसभामुख राधिका तामाङ र नेकपा संसदीय दल प्रमुख सचेतक रामेश्वर फँुयालले मुलुकमा राजनीतिक परिवर्तनसँगै संघीयता अभ्यासको पहिलो चरणमा कानुनी प्रक्रियाको ज्ञान, संसद्, संसदीय अभ्याससम्बन्धि सैद्धान्तिक पक्षमा र बैठक सञ्चालन विधिबारे प्रदेशसभा सदस्यले जानकारी लिन आवश्यक रहेको धारणा राख्नुभएको थियो ।
कार्यक्रममा संविधान, संसद् र संसदीय अभ्याससम्बन्धि सैद्वान्तिक पक्षबारे जानकारी गराइएको थियो । संविधान कार्यान्वयनको महत्वपूर्ण पक्षका रुपमा संघीयता रहेको अवस्थामा प्रदेश सांसद्हरुले यस्ता विषयमा गम्भीर हुनुपर्ने बताइयो । प्रदेशसभामा समय लिने र सभामुखसँग कुरा राख्ने तरिकाबारे प्रदेश सांसद्हरुलाई जानकारी गराइएको थियो ।
प्रदेशसभा बैठक सञ्चालन र निर्णय प्रक्रिया, प्रदेशसभा र प्रदेश सरकारबीच अन्तर्सम्बन्ध, प्रदेशसभा तथा विषयगत समितिको व्यवस्थापन कार्यविधि र समिति प्रणाली, राष्ट्रिय अखण्डता, आन्तरिक सुरक्षा जस्ता विषयका महत्वपूर्ण छलफललगायत विषयमा जानकारी गराइएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।